ऐनविपरीत सुर्ती कम्पनीले कथा प्रतियोगिता प्रायोजन
काठमाडौं। ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा ऐन विपरित सुर्तीजन्य पदार्थ उत्पादक कम्पनी सूर्य नेपालसमेत जोडिएको छ।
बाह्रखरी मिडियाले आयोजना गरेको नेपाली कथा लेखन प्रतियोगिताको आठौँ संस्करणमा सूर्य नेपाल गाथाले सांस्कृतिक अभियानका लागि साथ दिएको आयोजकले जनाएको छ। तर, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाले सुर्तीजन्य पदार्थ उत्पादक तथा वितरकलाई विभिन्न माध्यमबाट विज्ञापन, प्रवर्द्धन तथा कार्यक्रम प्रायोजन गर्न निषेध गरेको छ।
सुर्तीजन्य पदार्थको प्रभाव र कानुनी पक्ष
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ अर्थात् प्रतिघण्टा चार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको तथ्यांक उल्लेख गरिएको छ। यो संख्या नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत हो। सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा विभिन्न मुटुसम्बन्धी रोग लाग्ने तथ्य प्रमाणित भइसकेको छ।
नेपाल सरकारले सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण, नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८, नियमावली, २०६८ तथा निर्देशिका, २०७१ लागू गरेको छ। नीतिगत रूपमा व्यवस्था बलियो भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा सुर्ती कम्पनीहरूले विभिन्न माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्ने गरेका छन्। ऐनको दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजनमा स्पष्ट बन्देज लगाइएको छ।
प्रायोजनमा निषेधसम्बन्धी कानुनी प्रावधान
सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ निर्देशिकामा के छ ?
२१. साझेदारिता र सहभागिता गराउन नपाईनेः (१) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन लगायत नीति निर्धारण र कार्यान्वयन गर्ने कार्यमा सार्वजनिक निकायका पदाधिकारीले उत्पादक लगायतको सहभागिता गराउन पाईनेछैन।
(२) उत्पादक लगायतलाई राजस्व परामर्श समिति र यस्तै अन्य नीति निर्माण गर्ने निकाय, समिति र अन्या बैठक तथा कार्यक्रमहरुमा सहभागी गराउन पाईनेछैन।
(३) कसैले पनि सूर्तिजन्य पदार्थका उत्पादक लगायतको साझेदारीमा सूर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रम संचालन गर्ने पाईने छैन।

२२. संस्थागत सामाजिक उत्तरदायित्वनाममा काम गर्न नपाईनेः (१) सरकारी वा गैह्रसरकारी था नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन।
(२) कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन।
(३) सूर्ति उद्योगबाट उपलब्ध गराईएको छात्रवृत्ति, आर्थिक सहायता पुरस्कार, प्रोत्साहन भत्ता कसैले पनि ग्रहण गर्न पाउने छैन र उत्पादक लगायतले यस्तो सहयोग गर्न पाउने छैन ।
(४) सूर्ति उद्योगबाट निःशुल्क प्रदान गरिने उत्पादनलाई कसैले पनि ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले यस्तो निःशुल्क सहयोग गर्न पाउने छैन।
(५) सूर्ति उद्योगहरुले उत्पादन, निर्यात, विक्रिवितरण आदि प्रबर्द्धन, विज्ञापन, प्रायोजन गर्ने उद्देश्यबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चन्दा, पुरस्कार, आर्थिक सहायता, सामाजिक सेवा आदिको नाममा वार्षिक बजेट विनियोजन गर्न पाउनेछैन।
(६) सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।
(७) संस्थागत सामाजिक उत्तरदावित्व वहन गर्ने नाममा सूर्ति उद्योगहरुले प्रदान गर्ने कुनैपनि किसिमका शैक्षिक उत्थान, जातिय तथा वर्गिय उत्थान, आपतकालिन सेवामा सहयोग र सहकार्यको कसैले पनि स्वीकार गर्नु हुदैन र उत्पादक लगायतले यस्तो सहयोग गर्न पाउने छैन।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सूर्तिजन्य पदार्थ उत्पादन, विक्रिवितरण र उपभोगमा संग्लन व्यक्ति, मजदुर र किसानलाई सूर्तिजन्य पदार्थको उपभोग, विक्रिवितरण र उत्पादन प्रक्रियामा सहभागी भएको कारणबाट उत्पन्न रोग र स्वास्थ्य समस्याको जांच, निदान, औषधी उपचार, बिमा लगायतका सम्पूर्ण खर्च उत्पादकले अनिवार्य रुपमा बेहर्नु पर्ने छ र यी कार्यमा उत्पादक लगायतले उपलब्ध गराउने आर्थिक, जिन्सी वा भौतिक सहायता लिन वा दिनमा कुनै बाधा पर्नेछैन।
२४. सार्वजनिक निकायका पदाधिकारीहरुको आचरण: (१) सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु हुदैन।
(२) सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थ वा सो सेवन गरेको दृष्यलाई कुनै पनि संचार माध्यम वा तरीकाबाट प्रकाशन, प्रशारण र प्रदर्शन गर्नु गराउनु हुदैन।
(३) सार्वजनिक निकायका पदाधिकारीले सूर्ति उद्योगसंग सम्बन्धित व्यक्तिहरुसंग सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विषयहरुमा अन्तरक्रिया वा बैठक वा संचार गर्दा पादरर्शी तवरबाट दुई भन्दा बढी व्यक्ति वा संचार माध्यमका प्रतिनिधिहरुको सहभागितामा मात्र गर्नु पर्नेछ।
(४) सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी कुनै कार्यमा सूर्ति उद्योगले अनावश्यक बाधा व्यवबधान सृजना गरी हस्तक्षेप गरेको भएमा सार्वजनिक निकायका पदाधिकारीले त्यस्तो हस्तक्षेपलाई यथाशीघ्र संचार माध्यम र अन्य बिभिन्न उपायहरु अबलम्बन गरी बिरोध जनाउनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम बिरोध जनाउँदा समेत पटक पटक त्यस्ता गतिबिधि गरेमा निज उपर आवश्यक कारवाही गर्न निरीक्षक समक्ष लेखी पठाउनु पर्नेछ।

सार्वजनिक व्यक्तित्वहरूको सहभागितामाथि पनि प्रश्न
निर्देशिका, २०७१ को परिच्छेद ३ अन्तर्गत सार्वजनिक पदाधिकारी तथा व्यक्तिको सुर्ती उद्योगसँगको सम्बन्धबारे समेत प्रतिबन्धात्मक व्यवस्था गरिएको छ। सुर्ती उद्योगबाट प्रदान गरिने सहयोग, पुरस्कार वा आमन्त्रण स्वीकार गर्ने विषयमा समेत कानुनी बन्देज रहेको उल्लेख छ।
सुर्ती उद्योगद्वारा प्रायोजित कार्यक्रममा सहभागी हुनु, उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भ्रमण, तालिम, गोष्ठी तथा सम्मेलनमा भाग लिनु गैरकानुनी मानिएको छ।
प्रतियोगितामा साहित्यिक क्षेत्रका व्यक्तित्व
‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ को निर्णायक समूहको संयोजकमा अग्रज कथाकार भुवन ढुंगाना तथा सदस्यमा समालोचक एवं लेखक डा. ज्ञानु अधिकारी र चलचित्रकर्मी एवं लेखक खगेन्द्र लामिछाने रहेका छन्। बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको आन्तरिक समूहले प्राप्त कथामध्ये प्रारम्भिक रूपमा ५० कथा छनोट गर्नेछ। त्यसपछि निर्णायक समूहले उत्कृष्ट २५ कथा चयन गर्नेछ।
प्रतियोगिताका सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मान दिइनेछ। प्रतियोगिताको टाइटल स्पोन्सर डिगो, सांस्कृतिक अभियान टाइटलमा सूर्य नेपाल गाथा रहेको आयोजकले जनाएका छन्। त्यसैगरी एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, यति एयरलाइन्स, वेदालय तथा करुणा फाउन्डेसन नेपाल सहयोगी संस्थाका रूपमा रहेका छन्।
यसअघि पनि उठेको थियो प्रश्न
यसअघि कलिङ लिटरेरी फेस्टिभल २०२४ र ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ मा समेत सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको प्रायोजनलाई लिएर प्रश्न उठेको र समाचार सार्वजनिक भएपछि त्यस्तो प्रायोजन हटाइएको थियो।
















प्रतिकृया दिनुहोस