• २५ असोज २०८३, आइतबार

बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न आग्रह

काठमाडौं । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकामा देखिने दृष्टिदोष तथा आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह गरेको छ।

विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नारासहित साताव्यापी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब १ अर्ब मानिसको दृष्टिसम्बन्धी समस्या रोकथाम गर्न वा उपचारमार्फत सुधार गर्न सकिने अवस्था छ।

नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपना रहेको र ५० वर्षमाथिको जनसंख्यामा यो दर १.०५ प्रतिशत रहेको प्रतिष्ठानले जनाएको छ। मोतीबिन्दु, दृष्टिदोष, जलविन्दु तथा मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या अन्धोपना र गम्भीर दृष्टिदोषका प्रमुख कारण हुन्।

प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पनि दृष्टिदोषको समस्या बढिरहेको प्रतिष्ठानको भनाइ छ। समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीबिन्दु, जलविन्दु तथा आँखाको क्यान्सर समयमै पहिचान गर्न सके दृष्टि जोगाउन सकिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनाभित्र, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष आँखा परीक्षण गराउन अभिभावकलाई सुझाव दिएको छ। आँखा रातो हुने, डेढो हुने, धमिलो देखिने, निरन्तर आँसु बग्ने वा आँखाको कालो भागमा सेतो देखिने समस्या भए तत्काल आँखा अस्पताल वा केन्द्रमा जाँच गराउन आग्रह गरिएको छ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर, सचेतनामूलक र्‍याली र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ। शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण र आवश्यक बिरामीको मोतीबिन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको प्रतिष्ठानले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस