नेपालमै उत्पादित कार–टी सेलबाट १७ वर्षीया रक्त क्यान्सरकी बिरामीको उपचार
काठमाडौं। नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरेर पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ।
सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात् रक्त क्यान्सरको एक प्रकारबाट पीडित बिरामीलाई कार–टी सेल थेरापी दिइएको हो।
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा असोज ११ गते चिकित्सकको टोलीले बिरामीलाई कार–टी सेल चढाएको सीआरएम नेपालले जनाएको छ। उपचारपछि बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको र उनी स्वास्थ्यलाभ गरिरहेको संस्थाले जनाएको छ। उपचारको प्रभाव तथा क्यान्सर नियन्त्रणमा आएको छ वा छैन भन्ने मूल्यांकन गर्न चिकित्सकहरूले बिरामीको नियमित निगरानी गरिरहेका छन्।
उपचार टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार नेपालमै विकसित र उत्पादित कार–टी सेलबाट उपचार सुरु हुनु क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो। विशेषगरी केमोथेरापीपछि क्यान्सर पुनः बल्झिएका वा केमोथेरापीले प्रभावकारी काम नगरेका केही प्रकारका रक्त क्यान्सरका बिरामीका लागि यो उपचार उपयोगी हुन सक्छ।
डा. श्रेष्ठले डा. प्रशुन उपाध्यायलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको सहकार्यमा बिरामीको उपचार गरिएको जानकारी दिए। उनका अनुसार अमेरिका र बेलायतजस्ता देशमा कार–टी सेल थेरापी प्रयोगमा आएको झन्डै एक दशक भइसकेको छ। नेपालमै यस्तो उन्नत उपचार विकास गरी बिरामीमा प्रयोग गर्न सक्नु उपचार सेवाको विकासका दृष्टिले महत्वपूर्ण कदम हो।
“अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो। तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं,” डा. श्रेष्ठले भने।
नेपालमै कार–टी सेल उत्पादन र प्रयोग सम्भव भएसँगै रक्त क्यान्सरका केही बिरामीले उपचारका लागि भारत, चीनलगायत मुलुक जानुपर्ने निर्भरता घट्ने अपेक्षा गरिएको छ। आर्थिक तथा व्यावहारिक कठिनाइका कारण विदेशमा उपचार गराउन नसक्ने बिरामीलाई समेत स्वदेशमै उन्नत उपचार उपलब्ध गराउने आधार तयार भएको सीआरएम नेपालको भनाइ छ।
.jpeg)
के हो कार–टी सेल थेरापी ?
कार–टी सेल थेरापी शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई प्रयोग गरेर क्यान्सर कोष नष्ट गर्ने आधुनिक उपचार पद्धति हो। यसमा बिरामीकै शरीरबाट टी–सेल नामक प्रतिरक्षा कोष निकालेर आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। त्यसपछि ती कोषलाई क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने बनाइन्छ।
परिमार्जित टी–सेललाई प्रयोगशालामा आवश्यक संख्यामा वृद्धि गरेर पुनः बिरामीको शरीरमा चढाइन्छ। शरीरमा पुगेपछि ती कोषले लक्षित क्यान्सर कोष पहिचान गरी नष्ट गर्न मद्दत गर्छन्।
सीआरएम नेपालले विकास गरेको कार–टी सेलले सीडी–१९ नामक प्रोटिनलाई लक्षित गर्छ। यो प्रोटिन केही प्रकारका रक्त क्यान्सरका कोषमा पाइन्छ। त्यसैले सीडी–१९ लक्षित कार–टी सेल थेरापी निश्चित प्रकारका ल्युकेमिया तथा लिम्फोमाको उपचारमा प्रयोग गर्न सकिन्छ। यद्यपि, यो सबै प्रकारका क्यान्सरका लागि उपयुक्त हुँदैन। बिरामीको अवस्था र पहिले गरिएका उपचारका आधारमा यसको प्रयोगबारे निर्णय गरिन्छ।
सीआरएम नेपालका प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमका अनुसार उपचार गरिएका बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र प्रारम्भिक सकारात्मक प्रतिक्रिया देखिएको छ।
“बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक असर देखिएको हामीले पाएका छौं। यसले उपचारप्रति सुरुवाती प्रतिक्रिया आशाजनक रहेको संकेत गर्छ,” डा. गौतमले भने।
तर प्रारम्भिक प्रतिक्रिया सकारात्मक देखिनु मात्रै क्यान्सर पूर्ण रूपमा निको भएको प्रमाण होइन। उपचारको प्रभावकारिता, क्यान्सरको अवस्था र दीर्घकालीन नतिजा मूल्यांकन गर्न थप परीक्षण तथा नियमित चिकित्सकीय निगरानी आवश्यक हुन्छ। कार–टी सेल थेरापीपछि प्रतिरक्षा प्रणालीको तीव्र प्रतिक्रिया तथा स्नायु प्रणालीमा असर पर्न सक्ने भएकाले बिरामीको सावधानीपूर्वक निगरानी गर्नुपर्ने हुन्छ।
चार वर्षको अनुसन्धानपछि क्लिनिकल प्रयोग
सीआरएम नेपालले कार–टी सेल उपचार विकास गर्ने कार्यक्रम सन् २०२२ मा सुरु गरेको थियो। सन् २०२२ देखि २०२४ सम्म प्रिक्लिनिकल अनुसन्धान गरिएको संस्थाले जनाएको छ। त्यसपछि सन् २०२५ मा प्रयोगशाला तयारी, जनशक्तिको तालिम र उत्पादनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको थियो। सन् २०२६ मा सीडी–१९ लक्षित कार–टी सेल उत्पादनले नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति पाएपछि बिरामीमा उपचार सुरु गर्न सम्भव भएको हो।
यस प्रक्रियामा अनुसन्धान, प्रयोगशाला सञ्चालन, उत्पादन प्रविधि, गुणस्तर नियन्त्रण र नियामकीय प्रक्रियालाई एकीकृत गरिएको थियो। कार–टी सेल थेरापीमा प्रत्येक बिरामीका लागि छुट्टै कोष उत्पादन गर्नुपर्ने भएकाले उत्पादनदेखि परीक्षण र बिरामीलाई चढाउने प्रक्रियासम्म उच्च प्राविधिक दक्षता आवश्यक पर्छ।
सीआरएम नेपालको उत्पादन तथा प्रयोगशाला टोलीले नेपालमै आवश्यक उत्पादन प्रणाली स्थापना गरी सञ्चालन गरेको हो। यस क्रममा डिकोड जेनोमिक्सले गुणस्तर विश्लेषणको क्षमता उपलब्ध गराएको संस्थाले जनाएको छ।
अन्तर्राष्ट्रिय सहकार्यमा स्थानीय क्षमता विकास
कार–टी सेल उपचार कार्यक्रम अघि बढाउन नेपाल तथा विदेशमा रहेका वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताले सहकार्य गरेका थिए। प्रमुख वैज्ञानिक डा. गौतमले वैज्ञानिक विशेषज्ञता, अनुदान तथा अन्तर्राष्ट्रिय साझेदारलाई एकसाथ जोड्दै प्रयोगशाला स्थापना, प्रविधि हस्तान्तरण, उत्पादन तथा गुणस्तर नियन्त्रण, जनशक्ति तालिम र नियामकीय प्रक्रियामा सहयोग जुटाएका थिए।
लिंकन विश्वविद्यालयका प्राध्यापक डा. ओम कुर्मीले उन्नत उपचार पद्धतिलाई नेपालको स्वास्थ्य तथा शैक्षिक प्रणालीमा एकीकृत गर्ने र जैविक औषधि अनुसन्धान तथा औषधि विकासको संस्कृति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, डा. सुधांशु केसीले आर्थिक वा व्यावहारिक कारणले विदेश गएर उपचार गराउन नसक्ने बिरामीलाई पनि उन्नत उपचार उपलब्ध गराउनु संस्थाको दीर्घकालीन लक्ष्य रहेको बताए। जेनेटिसिस्ट बलराम गौतमले थप बिरामीसम्म सेवा पुर्याउन स्थानीय क्षमता विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्।
सेलुलर थेरापीका क्षेत्रमा काम गरेका लाइब्निज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्राध्यापक लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक लियो हान्समानले क्लिनिकल व्यवस्थापनसम्बन्धी सुझाव दिएका थिए। नियामकीय विशेषज्ञता डा. दिलिप शर्माले प्रदान गरेका थिए भने उत्पादनदेखि बिरामीलाई सेल चढाउने प्रक्रियासम्मको व्यवस्थापनमा वेदानन्द पराजुलीले समन्वय गरेका थिए।
नेपालमै कार–टी सेल उत्पादन र उपचार सम्भव हुनुले उन्नत जैविक उपचारको अनुसन्धान, गुणस्तर परीक्षण, दक्ष जनशक्ति विकास र उत्पादन पूर्वाधार विस्तारको सम्भावना बढाएको सीआरएम नेपालले जनाएको छ। तर यस्तो उपचारलाई थप बिरामीसम्म पुर्याउन उत्पादन क्षमता, लागत, गुणस्तर सुनिश्चितता, नियामकीय निगरानी र उपचारपछिको नियमित अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्नेछ।
सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल अनुसन्धान, उत्पादन, गुणस्तर मूल्यांकन, जनशक्ति तालिम र क्लिनिकल सहकार्यमार्फत उन्नत सेल थेरापी तथा इम्युनो–अन्कोलोजी क्षेत्रमा स्थानीय क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित संस्था हो। नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक बिरामीको उपचार हुनुले देशमा उन्नत क्यान्सर उपचार विकासको नयाँ सम्भावना खोलेको छ।

















प्रतिकृया दिनुहोस