बाँकेमा ९० जनामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि लार्भा नष्ट अभियान
काठमाडौं । बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत पुसदेखि असोज १६ गतेसम्म जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्। कोहलपुर नगरपालिका, डुडुवा, राप्तीसोनारी, खजुरा र जानकी गाउँपालिकामा पनि सङ्क्रमण देखिएको छ।
भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायतका स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितमध्ये अधिकांश उपचारपछि घर फर्किसकेको र केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको शर्माले जानकारी दिए।
डेङ्गु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडामा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतका अनुसार घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी र कुलरमा पानी जम्मा हुने स्थानमा लामखुट्टेको बासस्थान र लार्भा खोजेर नष्ट गरिनेछ।
कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले अभियान सञ्चालनका लागि सरोकारवालासँग छलफल भइरहेको र केही दिनभित्रै काम सुरु गरिने बताए। उनका अनुसार विगतमा पनि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दा डेङ्गु सङ्क्रमण घटेको थियो।
डेङ्गु सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले जोखिम न्यूनीकरणका लागि समयमै अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ।

















प्रतिकृया दिनुहोस