सुर्ती उद्योगको संलग्नताप्रति एक्सन नेपालको आपत्ति
काठमाडौं । ‘दिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा सुर्ती उद्योगको संलग्नता रहेको भन्दै एक्सन नेपालले आपत्ति जनाएको छ।
एक्सन नेपालका अध्यक्ष भरतविक्रम शाहले प्रेस विज्ञप्ति जारी गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाविपरीत कथा प्रतियोगितामा सूर्य नेपाल गाथाको संलग्नता रहेको दाबी गरेका छन्।
विज्ञप्तिमा सुर्तीजन्य पदार्थका उत्पादक तथा वितरकलाई विज्ञापन, प्रवर्द्धन, प्रदर्शन तथा विभिन्न कार्यक्रम प्रायोजन गर्न कानुनले निषेध गरेको उल्लेख छ। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष ३९ हजार २०० भन्दा बढीको अकालमा मृत्यु हुने गरेको पनि विज्ञप्तिमा जनाइएको छ।
एक्सन नेपालले सुर्ती उद्योगले ‘सामाजिक उत्तरदायित्व’का नाममा आफ्नो सामाजिक स्वीकार्यता र संस्थागत छवि विस्तार गर्ने प्रयास गर्दै आएको आरोप लगाएको छ।
जनस्वास्थ्यमा गम्भीर असर पार्ने सुर्ती उद्योगसँग कुनै पनि प्रकारको कार्यक्रम तथा सांस्कृतिक अभियानमा सहकार्य नगर्न आयोजक, लेखक, पत्रकार, सार्वजनिक निकायका प्रतिनिधि तथा अन्य सरोकारवालालाई एक्सन नेपालले आग्रह गरेको छ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ र सम्बन्धित निर्देशिकाले सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाएको एक्सन नेपालको भनाइ छ।
















प्रतिकृया दिनुहोस