• १८ कार्तिक २०८३, बुधबार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय समिति


काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्।
इलाममा २५औँ आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
अनसनको पाँचौँ दिनदेखि नै उनको स्वास्थ्यमा जटिलता देखिन थालेको थियो। श्वासप्रश्वासमा कठिनाइ भएपछि आइतबार रातिदेखि अक्सिजन दिएर उपचार सुरु गरिएको थियो। स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकले उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।
डा. केसीले गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका छबुँदे माग राख्दै अनसन सुरु गरेका हुन्।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले वार्ता समिति गठन गरेको हो। समितिले उनका माग सम्बोधनका विषयमा वार्ता गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस