चुनौती र अवसरका बीच क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु गरेका छौं
हाम्रो दीर्घकालीन लक्ष्य नेपाली जडीबुटीलाई उच्च मूल्यको औषधिजन्य उत्पादनमा रूपान्तरण गर्दै स्वदेशी बजारको आवश्यकता पूरा गर्नुका साथै भारत, बंगलादेश, पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्याउनु हो।
नेपालमा पहिलो पटक क्यान्सरको औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ उत्पादन सुरु भएको छ। भरतपुर महानगरपालिका–१६, शरणपुरमा स्थापना भएको जायोडिन बायोटेक लिमिटेडले नेपाली जडीबुटी लौठ सल्लो प्रशोधन गरी प्याक्लिट्याक्सल र डोसीट्याक्सललगायतका कच्चा पदार्थ उत्पादन थालेको हो।
करिब १ अर्ब ३० करोड रुपैयाँ लगानीमा स्थापना भएको उद्योगले उत्पादन गरेको कच्चा पदार्थ भारतमा निर्यातसमेत गरिसकेको छ। उद्योगले अब कच्चा पदार्थसँगै क्यान्सरका ट्याबलेट, क्याप्सुल र इन्जेक्सन उत्पादन गर्ने तयारी गरेको छ। नेपालको जडीबुटी, औषधिको आयात निर्भरता, उत्पादनका चुनौती र सम्भावनाबारे उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीसँग गरिएको कुराकानीः
नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने आवश्यकता किन देख्नुभयो ?
नेपालमा क्यान्सरका औषधि र तिनका कच्चा पदार्थ ठूलो मात्रामा आयात भइरहेको छ। अर्कोतर्फ, नेपाल जडीबुटीको दृष्टिले निकै समृद्ध छ। तर हामीसँग भएका जडीबुटीलाई पर्याप्त प्रशोधन र मूल्य अभिवृद्धि नगरी कच्चा रूपमा निर्यात गर्ने र त्यहीबाट बनेका औषधि पुनः महँगो मूल्यमा आयात गर्नुपर्ने अवस्था छ।
यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले जायोडिन बायोटेक स्थापना गरेका हौँ। करिब दुई बिघा दुई कठ्ठा क्षेत्रफलमा रहेको उद्योगमा १ अर्ब ३० करोड रुपैयाँ लगानी भएको छ। नेपालको जडीबुटीलाई उच्च मूल्यको औषधिजन्य उत्पादनमा रूपान्तरण गर्दै आयात घटाउने हाम्रो मुख्य उद्देश्य हो।
लौठ सल्लोबाट क्यान्सर औषधिको कच्चा पदार्थ कसरी तयार हुन्छ ?
हाल हामीले लौठ सल्लोबाट प्याक्लिट्याक्सल र डोसिट्याक्सलका कच्चा पदार्थ उत्पादन गरेका छौँ। लौठ सल्लोको प्रारम्भिक प्रशोधनबाट प्राप्त हुने ‘१०–डीएबी थ्री’ लाई थप प्रशोधन गरी यी कच्चा पदार्थ तयार गरिन्छ।
हेटौँडाको बसामाडीमा रहेको हाम्रो सहायक कम्पनी इभान्स लाइफ साइन्सले लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ तयार गर्छ। त्यसलाई शरणपुरमा ल्याएर थप प्रशोधन गरी औषधिमा प्रयोग हुने कच्चा पदार्थ बनाइन्छ। उत्पादन भएको प्याक्लिट्याक्सलको कच्चा पदार्थ भारतमा निर्यातसमेत गरिसकेका छौँ।
लौठ सल्लो नेपालका करिब ४० देखि ४५ जिल्लामा पाइन्छ। वार्षिक करिब १ हजार ५०० टन लौठ सल्लोबाट दुईदेखि तीन हजार किलोसम्म औषधिजन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने सम्भावना देखेका छौँ। भविष्यमा अन्य नेपाली जडीबुटीबाट पनि औषधिजन्य कच्चा पदार्थ उत्पादन गर्ने योजना छ।
नेपालमा जडीबुटीको सम्भावना प्रचुर छ। यसको प्रशोधन तथा प्रविधिमा कत्तिको चुनौती देख्नुभएको छ ?
नेपालमा जडीबुटी प्रशस्त भए पनि त्यसबाट उच्च मूल्यका औषधि उत्पादन हुन नसक्नुको मुख्य कारण प्रशोधन, प्रविधि र अनुसन्धानमा पर्याप्त लगानी नहुनु हो। जडीबुटी संकलन गरेर कच्चै निर्यात गर्ने प्रवृत्ति अझै छ। त्यसपछि त्यही वनस्पतिबाट बनेका औषधि वा कच्चा पदार्थ पुनः आयात गर्नुपर्ने अवस्था छ।
अब जडीबुटीलाई कच्चा रूपमा निर्यात गर्नेभन्दा वैज्ञानिक प्रशोधन, गुणस्तर परीक्षण र औषधिजन्य उत्पादनमा रूपान्तरण गर्नुपर्छ। यसबाट स्थानीय स्तरमा रोजगारी र आम्दानी बढ्नुका साथै नेपाल उच्च मूल्यको औषधि बजारमा प्रवेश गर्नसक्छ।
तर, यसका लागि दिगो कच्चा पदार्थ आपूर्ति अर्को चुनौती हो। प्राकृतिक स्रोतमा मात्र निर्भर हुँदा भविष्यमा दबाब पर्न सक्छ। त्यसैले जडीबुटी संरक्षण, वैज्ञानिक खेती र व्यवस्थित संकलनलाई उद्योगसँग जोड्नुपर्छ। स्थानीय समुदायसँग सहकार्य गरेर दीर्घकालीन आपूर्ति प्रणाली विकास गर्न आवश्यक छ।
कच्चा पदार्थसँगै तयारी औषधि उत्पादनको योजना के छ ?
हाम्रो लक्ष्य कच्चा पदार्थ उत्पादनमा मात्र सीमित रहने होइन। उद्योग परिसरमै क्यान्सर उपचारमा प्रयोग हुने ट्याबलेट, क्याप्सुल र इन्जेक्सन उत्पादन गर्ने प्लान्ट तयार भइरहेको छ। इन्जेक्सनतर्फ लाइफिलाइज्ड प्रविधिसमेत प्रयोग गर्ने योजना छ।
आगामी केही महिनाभित्र आफ्नै उत्पादन गरेको कच्चा पदार्थ प्रयोग गरेर क्यान्सरका औषधि उत्पादन सुरु गर्ने लक्ष्य छ। दीर्घकालमा करिब २५ देखि ३० प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने ट्याबलेट, क्याप्सुल र इन्जेक्सन उत्पादन गर्ने योजना बनाएका छौँ।
अहिले कच्चा पदार्थ उत्पादन क्षमता मासिक करिब ७० देखि ८० किलो छ। भविष्यमा १० देखि १५ प्रकारका क्यान्सरका औषधिजन्य कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य छ। स्वदेशी बजारसँगै निर्यातलाई पनि प्राथमिकतामा राखेका छौँ। पहिलो चरणमा भारतमा निर्यात सुरु भएको छ भने पाकिस्तान, बंगलादेशलगायत अन्य एसियाली मुलुकमा बजार विस्तार गर्ने योजना छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ। क्यान्सर औषधि बनाउने कच्चा पदार्थ उत्पादनका मुख्य चुनौती केके हुन् ?
क्यान्सरका औषधिमा प्रयोग हुने कच्चा पदार्थ संवेदनशील हुने भएकाले गुणस्तरमा कुनै सम्झौता गर्न सकिँदैन। भारत निर्यात गर्नुअघि सम्बन्धित कम्पनीलाई नमुना पठाएर परीक्षण गराइएको थियो। नमुना स्वीकृत भएपछि निर्यात सुरु गरेका हौँ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न आवश्यक गुणस्तर प्रमाणीकरण हासिल गर्ने दिशामा काम भइरहेको छ।
उत्पादनमा संलग्न जनशक्तिको सुरक्षालाई पनि प्राथमिकता दिएका छौँ। अत्याधुनिक उपकरण प्रयोग गरिएको छ र मानिसले प्रत्यक्ष रूपमा कच्चा पदार्थको सम्पर्कमा आउन नपर्ने गरी उत्पादन प्रणाली तयार गरिएको छ। अकुपेसनल एक्सपोजर ब्याड÷लेभल–४ (ओईबी–४) अनुरूपको सुरक्षा प्रणाली प्रयोग गरेका छौँ।
यस्ता उद्योग सञ्चालनमा प्रविधि, दक्ष जनशक्ति, कच्चा पदार्थको नियमित आपूर्ति, गुणस्तर प्रमाणीकरण र बजार प्रमुख चुनौती हुन्। नेपालमा औषधिजन्य कच्चा पदार्थ उत्पादनका लागि आवश्यक दक्ष जनशक्ति सीमित भएकाले तालिम र क्षमता विकासमा पनि लगानी गर्नुपर्छ।
सरकारको तर्फबाट कस्तो सहयोगको अपेक्ष गर्नुभएको छ ?
स्वदेशी कच्चा पदार्थमा आधारित औषधि उद्योगलाई सरकारले रणनीतिक स्वास्थ्य क्षेत्रका रूपमा हेर्नुपर्छ। उपकरण तथा प्रविधि आयातमा सहजीकरण, अनुसन्धान तथा विकासमा सहयोग, गुणस्तर परीक्षणका पूर्वाधार र निर्यात प्रक्रियामा सहज वातावरण आवश्यक छ।
सरकारी अस्पतालमा स्वदेशमै उत्पादन भएका गुणस्तरीय औषधिलाई प्राथमिकता दिन सकियो भने उद्योगलाई बजार सुनिश्चित हुन्छ। विश्वविद्यालय, अनुसन्धान संस्था, सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्छ। नेपाली जडीबुटीको वैज्ञानिक प्रमाणीकरण, नयाँ कच्चा पदार्थको अनुसन्धान र प्रविधि विकासमा लगानी बढाउन सके औषधि क्षेत्रमा ठूलो सम्भावना छ।
हामिले भर्खरै कच्चा पदार्थ साइटोटक्सिक्स उत्पादनमा जीएमपी प्रमाणपत्र पनि पाएका छौँ। हाम्रो लक्ष्य कच्चा पदार्थदेखि तयारी औषधिसम्मको मूल्य शृंखला नेपालमै विकास गर्न सके आयात निर्भरता घटाउन सकिन्छ। नेपाली जडीबुटीलाई उच्च मूल्यको औषधिजन्य उत्पादनमा रूपान्तरण गर्दै स्वदेशी बजारको आवश्यकता पूरा गर्नुका साथै भारत, बंगलादेश, पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्याउनु हो।























प्रतिकृया दिनुहोस