बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको क्षेत्रीय सहकार्यमा जोड
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार र साझा जनस्वास्थ्य चुनौतीको सामूहिक समाधानमा जोड दिएको छ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्दै संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), जलवायु परिवर्तनको स्वास्थ्यमा परेको प्रभाव, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने विषयमा नेपालको प्राथमिकता प्रस्तुत गरेकी छन्।
मन्त्री मेहताले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको बताएकी छन्। उनले साझा स्वास्थ्य चुनौतीको सामना गर्न अनुभव, प्राविधिक ज्ञान तथा असल अभ्यास आदानप्रदानमा जोड दिएकी छन्।
बैठकका क्रममा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरूसँग पनि भेटघाट तथा छलफल भएको थियो। छलफलमा स्वास्थ्य प्रणाली सुदृढीकरण र साझा स्वास्थ्य समस्याको सामूहिक समाधानका उपायबारे विचारविमर्श भएको जनाइएको छ।
बैठकमा नेपालका स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय र मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलगायत सहभागी छन्।

..jpeg)

..jpeg)









..jpeg)
प्रतिकृया दिनुहोस