देशभर विविध कार्यक्रम गरी मनाइदै धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस
काठमाडौं । आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विविध कार्यक्रम आयोजना गरी धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस मनाइदैछ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्तीलाई आयुर्वेद चिकित्सा क्षेत्रको विशेष पर्वका रूपमा लिने गरिन्छ। वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनका रूपमा यसलाई मनाउने धार्मिक मान्यता छ।
वैदिक सनातन हिन्दू ग्रन्थहरूमा उल्लेख भएअनुसार देवता र असुर मिलेर नागलाई नेती र मन्दराचल पर्वतलाई मदानी बनाई समुद्र मन्थन गर्दा कार्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट भएका थिए। रोगग्रस्त मानवको रोग निवारण र आरोग्य प्रदान गर्ने उद्देश्यले अमृत कलश लिएर उनको उत्पत्ति भएको धार्मिक विश्वास छ।
आयुर्वेद चिकित्सा क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीले यस दिनलाई सत्सङ्कल्प गर्दै शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन्। भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा पद्धतिका संस्थापक मानिन्छ। उनको हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदको पुस्तक र प्राकृतिक औषधिको प्रतीकका रूपमा जडीबुटी रहेको धार्मिक चित्रण पाइन्छ।
नेपालमा धन्वन्तरी जयन्ती मनाउने परम्परा
नेपालमा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। तत्कालीन राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापना भएको उक्त क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण संस्थाका रूपमा सञ्चालनमा थियो।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको हो। यसले आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व, प्राकृतिक उपचार प्रणाली र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
विभिन्न आयुर्वेदिक संस्थामा विशेष कार्यक्रम
धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, चन्द्रागिरि नगरपालिकाको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ तथा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत संस्थामा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ।
त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाहरूले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउदैछन्।
पछिल्लो समय आयुर्वेदिक औषधि तथा उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। कोरोना महामारीपछि आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म वृद्धि भएको सिंहदरबार वैद्यखाना विकास समितिको अभिलेखमा उल्लेख छ।
आयुर्वेदले रोग लागेपछि उपचार गर्ने मात्र नभई रोग लाग्न नदिन स्वस्थ जीवनशैली, खानपान, दिनचर्या र प्राकृतिक उपचार पद्धतिलाई समेत महत्त्व दिँदै आएको छ। धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसले आयुर्वेदको संरक्षण, प्रवर्द्धन र वैज्ञानिक अनुसन्धानको आवश्यकतालाई पुनः स्मरण गराएको छ।







..jpeg)









प्रतिकृया दिनुहोस