• २२ कार्तिक २०८३, आइतबार

गण्डकी आयुर्वेद अस्पतालमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

पोखरा । गण्डकी आयुर्वेद अस्पताल, पोखराले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

उक्त अवसरमा अस्पतालले आयोजना गरेको खुला जनचेतनामूलक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुका साथै अस्पताल परिसरमा रहेको भगवान् धन्वन्तरीको मूर्तिमा पूजाअर्चना तथा माल्यार्पण गरिएको थियो।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ ढुंगानाले गरेका थिए।

यस वर्षको ‘प्रकृतिअनुकूल आहार, औषध र विहार; रोगमुक्त समाजको आधार’ भन्ने नारामा केन्द्रित कार्यक्रममा अस्पतालकी कन्सल्टेन्ट कायचिकित्सक डा. सुनिता आचार्यले स्वागत मन्तव्य राख्दै आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको महत्त्वबारे प्रकाश पारेकी थिइन्।

स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि र डिजिटल माध्यमबाट सर्जकलाई जोड्ने उद्देश्यले आयोजित भिडियो प्रतियोगितामा दाङकी प्रियङ्का चौधरीको भिडियो प्रथम, सविता केसीको भिडियो द्वितीय र डा. सरोज पन्थीको भिडियो तृतीय भएको अस्पतालले जनाएको छ। प्रतियोगिताको नतिजा अस्पतालकी कन्सल्टेन्ट शल्यचिकित्सक डा. दीक्षा पौडेलले सार्वजनिक गरेकी थिइन्।

कार्यक्रममा लामो समयदेखि आयुर्वेद क्षेत्रमा सेवा गर्दै आएकी अस्पतालकी वैद्य निरीक्षक सीता शर्मालाई अनिवार्य अवकाश हुन लागेको अवसरमा सम्मानसमेत गरिएको थियो।

प्रमुख अतिथि डा. केसीले जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्नु उदाहरणीय कार्य भएको बताए। उनले सन्तुलित, स्वच्छ र स्वस्थ आहारविहारले रोगको जोखिम कम गर्नुका साथै स्वस्थ र दीर्घ जीवन प्राप्त गर्न सहयोग पुग्ने उल्लेख गरे। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय आयुर्वेद सेवा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध रहेको पनि उनले बताए।

कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालय पर्वतका प्रमुख डा. किरणकमल बस्ताकोटी, मन्त्रालयका बुद्धिसागर अधिकारी, गण्डकी प्रदेश अडानका सदस्य–सचिव डा. विवश बास्तोलालगायत आयुर्वेद क्षेत्रका चिकित्सक, व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता थियो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस