• २६ कार्तिक २०८३, बिहीबार

जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन कोप–३१ मा जोड

अन्ताल्या, टर्किए । जलवायु परिवर्तनको सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी उच्च अधिकारीहरूले जोड दिएका छन्।

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–३१) अन्तर्गत राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनीहरूले स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोडेर हेर्नुपर्ने बताए। उनले स्वच्छ ऊर्जामा लगानी बढाउनुका साथै जलवायु सङ्कटको उच्च जोखिममा रहेका विकासशील राष्ट्रलाई थप आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनका अनुसार अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको छ। यद्यपि, जलवायु लक्ष्य हासिल गर्न प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए।

सम्मेलनका अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए। उनले जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्न, वित्तीय सहयोगमा सहज पहुँच सुनिश्चित गर्न र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।

त्यसैगरी, कोप–३१ का वार्ता अध्यक्ष क्रिस बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताए। जलवायु परिवर्तनको असर कम गर्न स्वच्छ ऊर्जाको विस्तार र जोखिममा रहेका राष्ट्रको अनुकूलन क्षमतामा लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

उनले जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै विकासशील राष्ट्रको पहुँच सहज बनाउनुपर्नेमा जोड दिए।

तीनै वक्ताले जलवायु सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, पर्याप्त वित्तीय सहयोग र प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको उल्लेख गरेका छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस