• २० कार्तिक २०८३, शुक्रबार

नसर्ने रोग नियन्त्रणमा रोकथाम र स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिइने

काठमाडौं । सरकारले नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न उपचारभन्दा रोकथाम, स्वास्थ्य प्रवर्धन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीश अग्रवालको अध्यक्षतामा बसेको बैठकले नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय समन्वय र सहकार्य बढाउने निर्णय गरेको हो।

बैठकमा प्राडा अग्रवालले नसर्ने रोगको जोखिम घटाउन नागरिकको जीवनशैलीमा सुधार आवश्यक रहेको बताउँदै विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले नसर्ने रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी नभई सबै क्षेत्र र तहको साझा दायित्व भएको बताए।

बैठकले स्वास्थ्य प्रवर्धनका कार्यक्रम प्रभावकारी बनाउने, बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँग अन्तर्क्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, स्थानीय तहसँगको समन्वयमा समुदायस्तरमा जनचेतना विस्तार गर्ने, विद्यालय तहदेखि सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाइराख्ने वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भएको छ।

नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रसँगै शिक्षा, कृषि, उद्योग र स्थानीय सरकारबीच समन्वय बढाउने सरकारको तयारी छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस