• २२ कार्तिक २०८३, आइतबार

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी छलफलको अध्यक्षता मन्त्री मेहताले गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु परिवर्तन र जनस्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्।

सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा हुने कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुनेछिन्।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा परेको प्रभाव, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा निम्त्याएका चुनौती तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि र अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ।

नेपालले जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि र नोक्सानीको मूल्याङ्कनमा आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेको छ।

बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको जोखिम तथा खाद्य र पानीको असुरक्षाले जनस्वास्थ्यमा पार्ने प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकता दिनुपर्ने विषय पनि छलफलमा उठाइनेछ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस