• ३० श्रावण २०८३, शनिबार

प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ बाट सम्मानित

जेनेभा। नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’को दोस्रो स्वास्थ्य सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा प्रा.डा. थापालाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरे।

युरोपमा नेपालीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि तथा मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धान र योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको अध्यक्ष डा. श्रेष्ठले बताए।

यो सम्मान पाउने प्रा.डा. थापा दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन्। सोसाइटीले गत वर्ष पहिलोपटक उक्त सम्मान प्रा.डा. गणेश आचार्यलाई प्रदान गरेको थियो।

काठमाडौंको धापासीमा हुर्किएका थापाले बाल्यकालमै दुई वर्षीया बहिनीलाई समयमै उपचार नपाउँदा गुमाएपछि चिकित्सक बन्ने संकल्प गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस पूरा गरेका उनले मानसिक स्वास्थ्यमा रुचि बढाउँदै अनुसन्धानलाई आफ्नो व्यावसायिक क्षेत्र बनाए।

सन् १९९९ मा उच्च शिक्षाका लागि नर्वे पुगेका थापाले सन् २००६ मा चिकित्सा शास्त्रमा विद्यावारिधि पूरा गरे। हाल उनी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर तथा सन् २०२० देखि मेन्टल हेल्थ डिभिजनका अनुसन्धान प्रमुख छन्। मानसिक स्वास्थ्य, मनोचिकित्सा, युद्ध, बसाइँसराइ, शरणार्थी जीवन र मानसिक आघातसम्बन्धी उनका ५० भन्दा बढी अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

सम्मानपछि थापाले आफूले नर्वेमा हासिल गरेको ज्ञान र अनुभव नेपालमा उपयोग गर्न चाहेको बताए। विशेषगरी मानसिक स्वास्थ्यमा अनुसन्धान, अध्यापन र सेवा विस्तार तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सुधारका लागि काम गर्ने उनको योजना छ।

‘नेपालमा मानसिक स्वास्थ्य अहिले पनि ठूलो समस्या हो। यस क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मैले नर्वेमा अनुसन्धान, अध्यापन र स्वास्थ्य सेवाका क्रममा जे सिकेको छु, त्यसलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा अब अझ बढी काम गर्न चाहन्छु।’

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस