• ३० श्रावण २०८३, शनिबार

मेडिकल काउन्सिलमा चिकित्सकीय आचरणदेखि गैरकानुनी अभ्याससम्मका उजुरी

काठमाडौं। नेपाल मेडिकल काउन्सिलमा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावसायिक आचरण, योग्यता र गैरकानुनी चिकित्सा अभ्याससँग सम्बन्धित विभिन्न उजुरी परेका छन्। काउन्सिलले उजुरी ट्र्याकिङ प्रणालीमा दर्ता भएका उजुरीको समीक्षा गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

काउन्सिलका अनुसार चिकित्सक उपाधिको अनधिकृत प्रयोग तथा प्रेस्क्रिप्सनमा आधुनिक चिकित्सा पद्धतिअन्तर्गतका औषधि सिफारिस गरेको सम्बन्धमा परेको उजुरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् लगायत सम्बन्धित निकायमा छानबिन तथा कानुनी कारबाहीका लागि सिफारिस गरिएको छ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले आफ्नो स्वीकृत विशेषज्ञ विषयभन्दा फरक विषय उल्लेख गरेको सम्बन्धमा फोनमार्फत स्वीकृत विशेषज्ञ विषय मात्र उल्लेख गर्न निर्देशन दिइएको छ। पुनः सोही कार्य दोहोरिए कानुनी कारबाही गरिने काउन्सिलले जनाएको छ।

आफ्नो स्वीकृत विशेषज्ञ विषयको क्षेत्रभन्दा बाहिर चिकित्सा अभ्यास गरेको सम्बन्धमा परेका उजुरीमा सम्बन्धित चिकित्सकलाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

कुनै पनि निकायमा दर्ता नभएका व्यक्तिले चिकित्सा अभ्यास गरेको सम्बन्धमा समेत काउन्सिलले विभिन्न स्थानमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको जनाएको छ। यस्ता विषयमा कारबाही प्रक्रिया अघि बढिरहेको काउन्सिलले जनाएको छ।

सामाजिक सञ्जालमा आचारसंहिताविपरीत चिकित्सा अभ्यास गरेको वा बिरामीको गोपनीयता कायम नगरेको दृश्य तथा सामग्री राखिएको सम्बन्धमा परेका उजुरीमा सम्बन्धित व्यक्तिलाई सामाजिक सञ्जालबाट त्यस्ता दृश्य हटाउन फोनमार्फत निर्देशन दिइएको छ। साथै, लिखित स्पष्टीकरण पेस गर्नसमेत भनिएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस