• ३० श्रावण २०८३, शनिबार

चितवनमा साउनमै ६ जनामा स्क्रब टाइफस, ४ जनामा डेङ्गु पुष्टि

चितवन । चितवनमा साउन महिनामा मात्रै ६ जना स्थानीयमा स्क्रब टाइफस र २ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा स्थानीयतर्फ डेङ्गुका २ र स्क्रब टाइफसका ६ जनामा सङ्क्रमण देखिएको हो।

कार्यालयका अनुसार कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेङ्गु पुष्टि भएको छ। त्यस्तै, भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच जना तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ।

यसैगरी, अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। यससँगै साउन महिनामा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेङ्गुका १७८ र स्क्रब टाइफसका २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयले जनाएको छ।

डेङ्गु सङ्क्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। डेङ्गुको मुख्य सिजन भएकाले लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन तथा घरआँगन र वरपरका झाडी, पुराना टायर, गमला लगायत पानी जम्न सक्ने स्थान नियमित सफा राख्न कार्यालयले आग्रह गरेको छ।

यस्तै, वर्षायाममा स्क्रब टाइफसको जोखिमसमेत बढ्ने भएकाले घरवरपर झाडी नराख्न, सरसफाइमा ध्यान दिन तथा घाँस काट्दा, खेतबारीमा काम गर्दा वा जङ्गलमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ।

विशेषगरी घाँस तथा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस