द्वन्द्वपीडित पूर्वप्रहरीलाई निःशुल्क उपचारदेखि मिर्गौला प्रत्यारोपणसम्मको सुविधा
काठमाडौं। पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्वप्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्वप्रहरीका परिवारलाई उपचारमा छुट तथा विशेष सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्वप्रहरीका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अन्तरंग विभागका सबै सेवामा शतप्रतिशत छुट पाउनेछन्। यस्तो सुविधा परिषद्को सिफारिसमा १०० जना सदस्यका परिवारलाई उपलब्ध गराइनेछ।
यो सुविधा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्वप्रहरीका आमा, बुबा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई छोराछोरीलाई उपलब्ध हुनेछ।
त्यस्तै, द्वन्द्वपीडितबाहेक परिषद्मा आबद्ध अन्य पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा अन्तरंग विभागका सबै सेवामा ५० प्रतिशत छुट पाउनेछन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध हुनेछ।
सम्झौताले द्वन्द्वपीडितका लागि थप विशेष सुविधा पनि सुनिश्चित गरेको छ। जसअनुसार पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ।
आकस्मिक उपचारका लागि अस्पताल पुग्ने परिषद्मा आबद्ध बिरामीलाई २४ घण्टासम्म क्रेडिटमा उपचार सेवा उपलब्ध गराइनेछ। तर सहुलियत लिन परिषद्को सिफारिसपत्र अनिवार्य हुनेछ। बिरामी अस्पताल पुगेको २४ घण्टाभित्र सम्बन्धित बिरामीको नाम उल्लेख भएको सिफारिसपत्र परिषद्ले अस्पताललाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
केही सेवामा छुट नहुने
सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरीलगायत सेवामा छुट उपलब्ध हुने छैन। त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्री, अन्य चिकित्सकीय सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन।
नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषलगायत सुविधा उपलब्ध भएमा ती सुविधा पूर्ण रूपमा उपयोग गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत प्राप्त हुने व्यवस्था गरिएको छ।
सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ। सम्झौतामा पूर्वप्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष रमेशकुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक सुनील शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै शर्माले द्वन्द्वपीडितका नाममा आएको सहयोगसमेत वास्तविक पीडित प्रहरीले नपाएको अवस्था रहेको उल्लेख गर्दै उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके अहिले देखिएका धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।
द्वन्द्वपीडितका लागि उपचारमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले विशेष सुविधा ल्याइएको उल्लेख गर्दै शर्माले अब कुनै पनि द्वन्द्वपीडित सदस्यले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक, अमर प्रहरीका परिवारजन तथा द्वन्द्वपीडित घाइतेहरूको समेत उपस्थिति थियो।



..jpeg)
















प्रतिकृया दिनुहोस