• १७ कार्तिक २०८३, मंगलबार

नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजको पहल, नियमित सीपीडी कार्यक्रम सञ्चालन गरिने

काठमाडौं। नर्सिङ जनशक्तिको व्यावसायिक दक्षता अभिवृद्धि तथा बिरामीको उपचारलाई थप सुरक्षित बनाउने उद्देश्यले नेपाल मेडिकल कलेजले एकदिने नर्सिङ कार्यशाला आयोजना गरेको छ।

केमोथेरापी उपचारका क्रममा औषधि रक्तनलीबाट बाहिर निस्किएर छालामुनिको तन्तुमा चुहिने अवस्थालाई एक्स्ट्राभेसेसन भनिन्छ। समयमै पहिचान र उचित व्यवस्थापन गर्न नसक्दा यसले बिरामीको तन्तुमा गम्भीर क्षति पुर्‍याउन सक्ने भएकाले यसको रोकथाम तथा व्यवस्थापनबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्न कार्यशाला आयोजना गरिएको हो।

नेपाल मेडिकल कलेजको नर्सिङ विभागद्वारा ‘Management of Extravasation of Chemotherapeutic Drugs’ विषयमा आयोजित कार्यशालामा लेक्चरर पूजा प्रकाशले सहजीकरण गरेकी थिइन्।

कार्यशालामा केमोथेरापीका क्रममा औषधि चुहावट हुने कारण, जोखिम, लक्षणको पहिचान, रोकथामका उपाय तथा यस्तो अवस्था देखिएमा अपनाउनुपर्ने तत्कालीन व्यवस्थापन प्रक्रियाबारे विषयगत प्रस्तुति र व्यावहारिक अभ्याससहित छलफल गरिएको थियो।

विशेषगरी केमोथेरापी सेवा प्रदान गर्दा नर्सिङ जनशक्तिले अपनाउनुपर्ने सावधानी, बिरामीको नियमित निगरानी, एक्स्ट्राभेसेसनको प्रारम्भिक पहिचान र समयमै आवश्यक उपचार तथा व्यवस्थापन गर्ने प्रक्रियाबारे सहभागीलाई जानकारी दिइएको थियो।

कार्यक्रमका क्रममा नर्सिङ डाइरेक्टर सिर्जना पाण्डेले नर्सिङ विभागले अब नियमित रूपमा सीपीडी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिन्। उनले नर्सिङ जनशक्तिको ज्ञान, सीप र कार्यक्षमता निरन्तर अभिवृद्धि गर्न व्यावसायिक विकाससम्बन्धी तालिम तथा शैक्षिक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताइन्।

कलेजले यस्ता तालिम तथा कार्यशालाले नर्सिङ जनशक्तिको व्यावसायिक क्षमता विकास गर्नुका साथै बिरामीको सुरक्षा र उपचार सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल मेडिकल कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधार, बिरामीको सुरक्षा र स्वास्थ्यकर्मीको क्षमता विकासलाई केन्द्रमा राख्दै नियमित तालिम तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस