• १७ कार्तिक २०८३, मंगलबार

नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रियापछि आदित्यको स्वास्थ्यमा सुधार

वीरगञ्ज। बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएका आदित्य अहिले भेन्टिलेटरबाट मुक्त भएका छन्। उनी होसमा आएका छन् भने मुखबाट खाना खानसमेत थालेका छन्।

गत कात्तिक १४ गते बिहान करिब १०:३० बजे गोली लागेका आदित्यलाई घटनाको करिब एक घण्टापछि अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। अस्पतालका अनुसार अत्यधिक रक्तस्रावका कारण उनी रक्तस्रावजन्य आघात (हाइपोभोलेमिक सक) को अवस्थामा थिए। उनको रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै नाडी कमजोर थियो।

गोली लागेर पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुगेको र आन्द्राको केही भाग पेटबाहिर निस्किएको अवस्थामा उनलाई तत्काल शल्यक्रियाका लागि लगिएको थियो।

पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोदकुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्सकुमार शाहसहितको टोलीले आकस्मिक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्राका बाँकी भाग पुनः जोड्ने, सानो आन्द्रामा भएका प्वाल मर्मत गर्ने र मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउने प्रक्रिया गरिएको थियो। साथै, दाहिने नितम्बमा रहेको गोलीसमेत निकालिएको अस्पतालले जनाएको छ।

शल्यक्रियापछि पनि अवस्था गम्भीर रहेपछि आदित्यलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उनको उपचार जारी राखिएको थियो।

अस्पतालका अनुसार उपचारका क्रममा रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका औषधि प्रयोग गर्नुपरेको थियो। उनलाई भेन्टिलेटरमा राख्नुका साथै चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा चढाइएको थियो।

स्वास्थ्य अवस्था थप जटिल बनेपछि उच्चस्तरीय विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने चिकित्सकीय निष्कर्ष निकालिएको थियो। त्यसपछि अस्पताल प्रशासनले प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी स्थानान्तरणको व्यवस्था मिलाएको जनाएको छ।

कात्तिक १५ गते बिहान ११:३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।

अस्पतालबाट प्राप्त विवरणअनुसार कात्तिक १६ गतेसम्म आइपुग्दा उनको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको थियो। उनी भेन्टिलेटरबाट हटाइएका छन्, आफैँ श्वासप्रश्वास गर्न थालेका छन् र मुखबाट खाना खान सक्ने अवस्थामा पुगेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।

यसैबीच, नेशनल मेडिकल कलेजले आदित्यको आकस्मिक उपचारदेखि जटिल शल्यक्रिया, आईसीयू, औषधि, रगत तथा प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ। अस्पतालका अनुसार उपचारका क्रममा परिवारसँग कुनै शुल्क लिइएको छैन।

जीवनमरणको अवस्थामा अस्पताल पुर्‍याइएका बालकको आकस्मिक शल्यक्रिया, सघन उपचार र थप विशेषज्ञ उपचारका लागि समयमै गरिएको स्थानान्तरणले गम्भीर घाइते बिरामीको उपचारमा स्वास्थ्य संस्थाबीचको समन्वय र शीघ्र उपचारको महत्त्वलाई उजागर गरेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस