• १५ कार्तिक २०८३, आइतबार

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्वाचित

काठमाडौं। नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको दोस्रो महाधिवेशनबाट डा. होमप्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी निर्वाचित भएका छन् भने प्रदेशगत उपाध्यक्षहरूमा कोशीबाट इन्दु नेपाल योञ्जन, मधेसबाट अभिषेक रोशन, बागमतीबाट अरूण कोइराला, गण्डकीबाट हेमन्त श्रेष्ठ, लुम्बिनीबाट देभेश करण, कर्णालीबाट भक्तबहादुर शाही तथा सुदूरपश्चिमबाट कृष्णराज ढुंगाना निर्वाचित भएका छन्।

त्यसैगरी, महासचिवमा छमबहादुर अधिकारी, सचिवमा समीर शर्मा र कोषाध्यक्षमा रोजिका प्रधान निर्वाचित भएका छन्। सदस्यहरूमा क्षितिज खतिवडा, श्रेयशध्वज जोशी, लवेन्द्र कुँवर, प्रकृति आचार्य, जगतलक्ष्मी सुजाखु, हेमकुमार बिडारी, रोशन अधिकारी र विशाल लामिछाने चयन भएका छन्।

महाधिवेशनले स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी, व्यावसायिक र उत्तरदायी बनाउन संघले आगामी कार्यकालमा नीति संवाद, क्षमता अभिवृद्धि, व्यवस्थापकहरूको पेशागत हित संरक्षण तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्।

संघका अनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। नयाँ नेतृत्वले देशभरका स्वास्थ्य सेवा व्यवस्थापकबीच समन्वय बढाउँदै स्वास्थ्य संस्थाहरूको व्यवस्थापन सुधार र सेवाको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यसअघि संस्थाको अध्यक्ष महेन्द्रराज भुसाल रहेका छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस