• १२ कार्तिक २०८३, बुधबार

गण्डकी आयुर्वेद अस्पतालले खुला भिडियो प्रतियोगिता गर्ने

पोखरा। गण्डकी आयुर्वेद अस्पताल, पोखराले राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्तीको अवसरमा खुला जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। नसर्ने रोगको जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ।

आगामी २०८३ कात्तिक २१ गते मनाइने राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्तीको नारा ‘प्रकृतिअनुकूल आहार, औषध र विहार, रोगमुक्त समाजको आधार’ रहेको छ। सोही नारालाई आत्मसात् गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन र डिजिटल माध्यमबाट सर्जकहरूलाई अभियानमा जोड्न प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा देशभरका इच्छुक व्यक्ति तथा सर्जकले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुनेले नसर्ने रोगको रोकथाम तथा जोखिम न्यूनीकरणमा आयुर्वेदको भूमिका, प्रकृतिअनुकूल आहारविहार र स्वस्थ जीवनशैली, योग, व्यायाम, निद्रा तथा मानसिक स्वास्थ्य, आयुर्वेदमार्फत स्वास्थ्य प्रवर्द्धन र औषधिको उचित प्रयोगजस्ता विषय समेटेर भिडियो बनाउनुपर्नेछ।

भिडियो न्यूनतम दुई मिनेटदेखि अधिकतम तीन मिनेटसम्मको हुनुपर्नेछ। भिडियो मौलिक, सन्देशमूलक तथा जनचेतना अभिवृद्धि गर्ने खालको हुनुपर्नेछ। साथै, भिडियो निर्माणमा प्रयोग गरिने सामग्री तथा सङ्गीतको प्रतिलिपि अधिकारसम्बन्धी नियम पालना गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन चाहनेले २०८३ कात्तिक २० गते दिउँसो १ बजेसम्म आफ्नो भिडियो गुगल ड्राइभमा अपलोड गरी त्यसको पहुँचयोग्य लिङ्क अस्पतालको आधिकारिक इमेल gandakiayurveda@gmail.com मा पठाउनुपर्नेछ। प्राप्त भिडियोमध्ये उत्कृष्ट भिडियो आयोजकको निर्णयअनुसार छनोट गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले तीन हजार र तृतीय हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अस्पतालले स्वस्थ जीवनशैली र रोग रोकथामसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न इच्छुक सबैलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि पोखरा, लेखनाथस्थित गण्डकी आयुर्वेद अस्पतालमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस