• १५ कार्तिक २०८३, आइतबार

चक्रवात ‘अर्णव’को प्रभाव शनिबार अपराह्नपछि घट्ने

काठमाडौं । नेपालमा चक्रवात ‘अर्णव’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्णव’ नेपाल प्रवेश गर्दा कमजोर न्यूनचापीय प्रणालीमा परिणत भएकाले वर्षा, हिमपात र हावाहुरीको असर सामान्य रहेको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार शनिबार दिउँसो र राति देशका अधिकांश स्थानमा बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। केही स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ।

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। महाशाखाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस