एनडीए यूके र रोटरी क्लबको सहकार्यमा चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग
काठमाडौं। नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिमका उपकरण सहयोग गरेको छ।
मंगलबार वीर अस्पतालमा आयोजित कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटललाई उपकरण हस्तान्तरण गरिएको हो।

आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकहरूको व्यावहारिक सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उपलब्ध गराइएका उपकरणले विशेषगरी ल्याप्रोस्कोपिक शल्यक्रियाको अभ्यासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। इन्डोट्रेनरजस्ता उपकरणको प्रयोगबाट चिकित्सकले वास्तविक शल्यक्रिया गर्नुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्न सक्छन्।
हस्तान्तरण कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङ्बोसहित सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता थियो।

एनडीए यूकेका उपाध्यक्ष डा आशिषकिरण श्रेष्ठले चिकित्सकहरूको सीप विकासका लागि रोटरी क्लब अफ काष्ठमण्डपसँगको सहकार्यमा चार संस्थालाई उपकरण उपलब्ध गराइएको बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मेयाङ्बोले प्राप्त उपकरणले शल्यक्रिया तालिमलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की र रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यलगायतले नेपाली चिकित्सकहरूको क्षमता विकास र स्वास्थ्य सेवा सुधारमा यस किसिमको सहयोग महत्त्वपूर्ण हुने बताए।
एनडीए यूकेले रोटरी क्लब अफ काष्ठमण्डपसँग एक दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै नेपालको स्वास्थ्य सेवा, तालिम तथा चिकित्सकको क्षमता विकासमा सहयोग गर्दै आएको जनाएको छ।



..jpeg)




..jpeg)


.png)







प्रतिकृया दिनुहोस