• १५ कार्तिक २०८३, आइतबार

ढाकामा नेपाली इन्टर्न तथा चिकित्सकहरूको भेला, १५० जनाको सहभागिता

ढाका। बंगलादेशको राजधानी ढाकामा अध्ययनरत तथा कार्यरत नेपाली चिकित्सकहरूबीच आपसी सम्बन्ध, एकता र व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ आयोजना गरिएको छ।

ढाकास्थित द फरेस्ट लाउन्जमा आयोजित कार्यक्रममा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका रेजिडेन्ट तथा विभिन्न संस्थामा कार्यरत करिब १५० जना नेपाली चिकित्सक सहभागी भएका थिए।

वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन (डब्लुएनएसओ) बंगलादेशको आयोजनामा तथा सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश (एसएनडीबी)को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। स्क्वायर फर्मास्युटिकल्स पीएलसी बंगलादेशले कार्यक्रमलाई प्रायोजन गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम कोलोरेक्टल सर्जन तथा एसएनडीबीका संस्थापक अध्यक्ष डा. राकेश शाह थिए। उनले बंगलादेशमा चिकित्सा शिक्षा पूरा गरेको पाँच वर्षपछि पुनः ढाका फर्किन पाउँदा खुसी लागेको बताए। आफ्नो शैक्षिक तथा व्यावसायिक जीवन निर्माणमा बंगलादेशको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

डा. शाहले नेपाली विद्यार्थी तथा चिकित्सकलाई एउटै मञ्चमा जोड्ने डब्लुएनएसओको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिए। स्नातक तहको अध्ययन पूरा गरेपछि पनि आपसी सम्बन्ध र सहकार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरी नेपाल फर्कने चिकित्सकलाई आवश्यक सहयोग र मार्गदर्शन गर्न एसएनडीबी प्रतिबद्ध रहेको बताए।

कार्यक्रमको सभापतित्व डब्लुएनएसओ बंगलादेशका अध्यक्ष डा. मुन्ना यादवले गरेका थिए। कार्यक्रममा एसएनडीबीका स्थानीय प्रतिनिधि डा. मनीष गुरमैता तथा स्क्वायर फर्मास्युटिकल्सका प्रतिनिधि एमदादुल होक रसेल, डा. रेजाउल हसन खानलगायतको उपस्थिति थियो।

कार्यक्रममा नेपाली कला तथा संस्कृति झल्कने प्रस्तुति, मनोरञ्जनात्मक खेल, पुरस्कार वितरण र र्‍याफल ड्र आयोजना गरिएको थियो। औपचारिक कार्यक्रमपछि बुफे डिनरसहित सहभागीहरूले आपसमा अनुभव तथा विचार आदानप्रदान गरेका थिए।

आयोजकका अनुसार कार्यक्रमले बंगलादेशमा रहेका नेपाली विद्यार्थी तथा चिकित्सकबीच मित्रता, भाइचारा र व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्रदान गरेको छ। साथै, नेपाल फर्किएपछि पनि एकआपसमा जोडिएर नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउन सहभागीहरूलाई प्रेरित गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस