क्वाँटी खानुका १४ फाइदा
काठमाडौं। नेपालीका विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ।
क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ। यो टुसा उमारेर बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार हो। यसले थकित शरीरमा ऊर्जा सञ्चार गर्छ भने चिसो वा सर्दी पनि भगाउँछ।
स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ। क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ।
बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ। यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्त्वको पूर्ति गराउँछ। वृद्धवृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ।
हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौँ। खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौँ। गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ। माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ। यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ।
क्वाँटी खानुका फाइदाहरू
१. कब्जियतको समस्या हटाउँछ। क्वाँटी रेसादार खानाको स्रोत हो।
२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा पोषणविद्सँग भने एकपटक सल्लाह लिन आवश्यक छ।
३. यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त पार्दछ।
४. तुरुन्त प्रयोग हुन सक्ने, शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ।
५. यो सजिलै पाच्य हुन्छ।
६. पेटमा अनावश्यक वायु बनाउँदैन।
७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ। यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ।
८. रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
९. रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।
१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ।
११. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।
१२. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ। त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ।
१३. पाचनशक्तिमा सुधार ल्याउँछ।
१४. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।




..jpeg)



..jpeg)










प्रतिकृया दिनुहोस