• २८ असोज २०८३, बुधबार

रजोनिवृत्ति सचेतना सप्ताह मनाइँदै, महिला स्वास्थ्यबारे खुला बहसमा जोड

काठमाडौं। महिलाको जीवनमा हुने प्राकृतिक प्रक्रिया रजोनिवृत्ति (मेनोपज) बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २६ देखि ३० गतेसम्म ‘रजोनिवृत्ति सचेतना सप्ताह’ मनाइने भएको छ।

यस अवसरमा रजोनिवृत्तिबारे समाजमा रहेको मौनता र संकोच हटाउँदै महिला स्वास्थ्यका विषयमा खुला छलफल तथा आवश्यक सहयोगको वातावरण बनाउन विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा महिलाको महिनावारी स्थायी रूपमा बन्द हुने प्रक्रियालाई रजोनिवृत्ति भनिन्छ। लगातार १२ महिनासम्म महिनावारी नभएपछि रजोनिवृत्ति भएको मानिन्छ। यो कुनै रोग नभई महिलाको शरीरमा हुने प्राकृतिक हार्मोनल परिवर्तन हो।

तर, यसबारे पर्याप्त जानकारी नहुँदा धेरै महिलाले रजोनिवृत्तिका क्रममा देखिने शारीरिक तथा मानसिक समस्याबारे खुलेर कुरा गर्न र आवश्यक परामर्श लिन नसकेको अवस्था छ। रजोनिवृत्तिका लक्षण पहिचान गरी समयमै उचित परामर्श र उपचार लिएमा तिनको व्यवस्थापन गर्न सकिने भएकाले यस विषयमा जनचेतना बढाउन आवश्यक रहेको आयोजकले जनाएको छ।

सचेतना सप्ताहको मुख्य उद्देश्य रजोनिवृत्तिलाई बहस, छलफल, समझदारी र सहयोगको विषय बनाउनु हो। यस अवधिमा सूचनामूलक सामग्रीमार्फत रजोनिवृत्तिका लक्षण, स्वास्थ्यमा पर्न सक्ने प्रभाव तथा तिनको व्यवस्थापनबारे जानकारी दिइनेछ। साथै, महिलालाई आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

रजोनिवृत्तिका क्रममा महिलालाई परिवार र समाजबाट प्राप्त हुने सहयोग पनि महत्त्वपूर्ण मानिन्छ। विशेषगरी जीवनसाथी, छोराछोरी र परिवारका अन्य सदस्यले महिलाको शारीरिक तथा भावनात्मक अवस्थालाई बुझेर सहयोग गर्नुपर्नेमा सचेतना अभियानले जोड दिनेछ।

पछिल्ला वर्षमा नेपालमा मेनोपज क्लिनिक सञ्चालनमा आउन थालेपछि रजोनिवृत्तिसम्बन्धी स्वास्थ्य सेवा र परामर्शमा पहुँच बढाउने प्रयाससमेत अघि बढेको छ।

‘महिनावारी सुक्ने उमेरमा पुगेका महिलालाई सम्मानजनक, स्वस्थ र पीडामुक्त जीवन जिउने अधिकार छ,’ अभियानको सन्देशमा भनिएको छ, ‘आउनुहोस्, रजोनिवृत्तिबारे खुलेर कुरा गरौँ र आफ्ना आमा, श्रीमती, दिदीबहिनी तथा सहकर्मीलाई आवश्यक सहयोग र सहानुभूति प्रदान गरौँ।’

सप्ताह सञ्चालनमा नोभाला बायोटेक प्रालि, मेट्रो अस्पताल काठमाडौं, सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट्स (क्याम्स) क्लिनिक, टेस्ला फार्मेसी र ओम फार्मेसी तथा वाउ म्यागेजिनले सहयोग गर्ने जनाइएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस