चितवनमा स्क्रब टाइफस सङ्क्रमित २३४ जना
चितवन । चितवनमा चालु आर्थिक वर्षमा २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १४२ जना जिल्लाभित्रका र ९२ जना बाहिरी जिल्लाबाट उपचारका लागि आएका हुन्।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गर्दा २३४ जनामा सङ्क्रमण देखिएको हो।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै, भरतपुर महानगरपालिकामा ३२, खैरहनी नगरपालिकामा २२, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ।
सङ्क्रमितमध्ये महिलाको सङ्ख्या बढी छ। जिल्लाभित्रका सङ्क्रमितमध्ये ९० महिला र ५२ पुरुष छन् भने बाहिरी जिल्लाबाट आएका सङ्क्रमितमध्ये ५८ महिला र ३४ पुरुष छन्। हालसम्म स्क्रब टाइफसका कारण जिल्लामा कसैको मृत्यु भएको छैन।
स्क्रब टाइफस सङ्क्रमित किर्ना (माइट) को टोकाइबाट मानिसमा सर्छ। यसबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा जोर्नी दुख्ने र टोकेको ठाउँमा कालो दाग वा घाउ देखिने लक्षण हुन सक्छन्।
निरीक्षक केसीले घरवरपरका झाडी सफा राख्न, खेतबारीमा काम गर्दा शरीर ढाक्ने लुगा लगाउन र लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।




..jpeg)













प्रतिकृया दिनुहोस