नर्भिक अस्पताल ३४ औं वर्षमा प्रवेश, ५० लाखभन्दा बढी बिरामीलाई सेवा
काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि ३३ वर्ष पूरा गरी ३४ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि हालसम्म अस्पतालले झण्डै ५० लाख बिरामीलाई सेवा प्रदान गरिसकेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो।
मिश्रका अनुसार निजी क्षेत्रको स्वास्थ्य सेवामा मानक स्थापित गर्दै नर्भिकले दक्ष जनशक्ति, आधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत बिरामीको विश्वास जित्दै आएको छ। उहाँले आगामी दिनमा सेवा अझै प्रभावकारी, विश्वसनीय र बिरामीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अस्पतालले स्वदेशी मात्र नभई सातै महादेशका ४० भन्दा बढी देशका नागरिकलाई समेत उपचार सेवा दिँदै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य गन्तव्यको रूपमा पहिचान बनाएको जनाएको छ।
३३ औं वार्षिकोत्सवको अवसरमा नर्भिकले प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। प्रभातफेरी थापाथली–त्रिपुरेश्वर–सुन्धारा–न्युरोड–वसन्तपुर हुँदै पुनः थापाथली फर्किने मार्गमा सम्पन्न भएको छ भने अस्पताल परिसरमा दिउँसोसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।
अस्पतालले सेवा विस्तारलाई तीव्रता दिँदै अत्याधुनिक ८ तले नयाँ भवन निर्माण अन्तिम चरणमा पुर्याएको छ। हाल २०० शय्या रहेको अस्पतालको क्षमता भवन निर्माणपछि ३०० शय्यामा विस्तार हुने जनाइएको छ। साथै, मल्टिस्पेसियालिटी सेवासँगै ‘नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट’ स्थापना गर्ने योजना पनि अघि बढाइएको छ।
पछिल्लो एक वर्षमा अस्पतालले विभिन्न जटिल रोगहरूको सफल उपचार गर्दै नयाँ प्रविधि भित्र्याएको छ। न्यूरोसर्जरी, मुटु, कलेजो, मेरुदण्ड तथा फोक्सोसम्बन्धी रोगहरूको अत्याधुनिक विधिबाट उपचार सुरु गरिएको छ। इमर्जेन्सी सेवा सुदृढ बनाउँदै चक्रपथभित्र गम्भीर बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइएको छ।
डिजिटल प्रणालीतर्फ उन्मुख हुँदै अस्पतालले मोबाइल एपमार्फत प्रेस्क्रिप्सन र ल्याब रिपोर्ट उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। साथै, नर्सहरूको योगदानको कदर गर्दै डेजी फाउन्डेसनसँगको सहकार्यमा उत्कृष्ट नर्स सम्मान कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ।
सन् १९९३ मा स्थापना भएको नर्भिकले तीन दशकको यात्रामा हृदय, न्यूरोलोजी, क्याथ ल्याब, आईभीएफ, किड्नी प्रत्यारोपणलगायतका विशिष्ट सेवा विस्तार गर्दै देशकै अग्रणी बहुविशेषज्ञ अस्पतालका रूपमा आफूलाई स्थापित गरेको छ।



.jpeg)

..jpeg)



-1794543253.png)

..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस