• ३ असोज २०८३, शनिबार

आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं। प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्ता सामग्री पत्रकार आचारसंहिताअनुकूल भए–नभएको विषयमा काउन्सिलले अध्ययन तथा अनुगमन गरिरहेको जनाएको हो।

रसुवाको बाढीबाट उद्धार गरिएका तथा माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनासँग सम्बन्धित घटनामा आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रसारण भएको विषय काउन्सिलको जानकारीमा आएको छ। यसअघि सगरमाथामा सम्पर्कविहीन भई उद्धार गरिएका पथप्रदर्शकको आईसीयूबाटै अन्तर्वार्ता प्रसारण भएको विषयमा पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।

काउन्सिलले बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति र मानवीय संवेदनशीलतालाई ध्यान दिन सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ। अध्ययनका क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

 

प्रतिकृया दिनुहोस