डा. सापकोटाविरुद्ध २ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपपत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सापकोटाले सार्वजनिक सेवामा रहँदा वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक जीवनस्तर यापन गरेको अनुसन्धानबाट खुलेको छ।
सापकोटाको नियुक्ति भएको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको थियो। उक्त अवधिमा सापकोटा र उनका परिवारको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा रहेको आयोगले जनाएको छ।
तर सोही अवधिमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको देखिएको आयोगको दाबी छ। आय र खर्चबीचको अन्तर २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा रहेको र त्यसको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।
आयोगले सापकोटाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा अमिल्दो जीवनस्तरसम्बन्धी कसुरमा कानुनी कारबाही र बिगो असुलउपरको माग गरेको छ। उनकी श्रीमती निरजा पण्डितको नाममा समेत उक्त सम्पत्तिको केही हिस्सा रहेको दाबी गर्दै आयोगले उनलाई समेत प्रतिवादी बनाएको जनाएको छ।
अब मुद्दामा विशेष अदालतबाट कानुनी प्रक्रियाअनुसार सुनुवाइ हुनेछ।

..jpeg)



..jpeg)










प्रतिकृया दिनुहोस