• ३ असोज २०८३, शनिबार

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले आमालाई ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरेको छ।

मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार गरेको मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको हो।

सुरक्षित मातृत्वसम्बन्धी ऐन संशोधनको मस्यौदामा हाल कायम ९८ दिनको प्रसूति बिदा बढाएर कम्तीमा ६ महिना पुर्‍याउने र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।

मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिसेवाकर्मीको व्यवस्था, सम्मानजनक प्रसूति सेवा तथा गर्भवती र सुत्केरीमाथि हुने शारीरिक वा मानसिक हिंसा रोक्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताइन्। अभिभावकत्वमा बुबाको सहभागिता सुनिश्चित गर्न राज्यले अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

मन्त्रालयका अनुसार बदलिँदो पारिवारिक संरचना, जीवनशैली तथा मातृ र नवजात शिशुको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै कानुनी व्यवस्था समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाइएको हो।

 

प्रतिकृया दिनुहोस