• ३ असोज २०८३, शनिबार

शिक्षण अस्पतालमा सुरु भयो ट्राभल मेडिसिन एण्ड भ्याक्सिनेसन क्लिनिक

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा जनरल प्राक्टिसअन्तर्गत ट्राभल मेडिसिन एण्ड भ्याक्सिनेसन क्लिनिक सञ्चालनमा आएको छ।

नेपालमा आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरी ट्राभल मेडिसिन तथा भ्याक्सिनेसन ओपीडी सुरु गरिएको हो।

क्लिनिकको आज उद्घाटन गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्राडा मोहनराज शर्माले सरकारी अस्पतालबाट सहुलियतमा सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको बताए।

क्लिनिकमार्फत हिमाली तथा तराई क्षेत्रमा यात्रा गर्ने व्यक्तिलाई हाइ अल्टिच्युड सिकनेस, गर्मी, डिहाइड्रेसनलगायत स्वास्थ्य जोखिमबाट बच्ने उपायबारे परामर्श दिइने क्लिनिकका संयोजक डा. सञ्जीव तिवारीले जानकारी दिए।

उनका अनुसार क्लिनिकबाट विभिन्न एडल्ट भ्याक्सिनसम्बन्धी परामर्श तथा खोप सेवा पनि उपलब्ध हुनेछ। ज्येष्ठ नागरिक, मधुमेहलगायत दीर्घरोग भएका व्यक्तिलाई निमोनियाविरुद्धको खोप तथा आवश्यकताअनुसार हेपाटाइटिस बी, जापानिज इन्सेफलाइटिस (जेई), पोलियो, हैजा (कोलेरा)लगायत खोपबारे परामर्श र सेवा दिइनेछ।

ट्राभल मेडिसिन तथा भ्याक्सिनेसन सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने र आवश्यक खोप सिफारिससँगै खोप कार्डसमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ।

 

प्रतिकृया दिनुहोस