कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
काठमाडौं । जापानिज इन्सेफलाइटिसको संक्रमण र मृत्युदर बढेपछि कैलालीका तीन स्थानीय तहमा आजदेखि विशेष खोप अभियान सुरु भएको छ।
अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकाका ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिइनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म देशभर १२१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८५ प्रतिशतले खोप नलगाएको पाइएको छ। संक्रमणका कारण २६ जनाको मृत्यु भएकोमा सबैले खोप नलगाएको मन्त्रालयले जनाएको छ। मृतकमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका छन्।
जोखिमयुक्त क्षेत्रमा खोप नलगाएका व्यक्तिमा संक्रमणको जोखिम बढी देखिएपछि विशेष अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
जापानिज इन्सेफलाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। संक्रमण गम्भीर भएमा मस्तिष्कमा असर परी मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्छ।
मन्त्रालयले लक्षित समूहका व्यक्तिलाई तोकिएका खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन आग्रह गरेको छ। साथै लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाकिने कपडा लगाउने, रिपेलेन्ट प्रयोग गर्ने र घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन अनुरोध गरेको छ।

..jpeg)



..jpeg)










प्रतिकृया दिनुहोस