• ३ असोज २०८३, शनिबार

हिमालयन इन्टरनेशनल एपिलेप्सी कन्फ्रेन्स २०२६ सुरु

काठमाडौं। नेपाल एपिलेप्सी सोसाइटीको आयोजना तथा ‘इन्टरनेशनल लिग एगेन्स्ट एपिलेप्सी’ (आईएलएई)को सहकार्यमा हिमालयन इन्टरनेशनल एपिलेप्सी कन्फ्रेन्स २०२६ सुरु भएको छ।

असोज २ गतेदेखि काठमाडौंको होटल र्‍याडिसनमा सुरु भएको सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ। ‘न्युरिन्स टु नेटवर्क इन एपिलेप्सी म्यानेजमेन्ट’ मुख्य अवधारणाका साथ आयोजना गरिएको सम्मेलनले छारे रोगसम्बन्धी न्युरोसाइन्स अनुसन्धानदेखि प्रमाणमा आधारित आधुनिक शल्यक्रिया, उपचार, समुदाय र जनस्वास्थ्यसम्मका ज्ञान तथा सेवाबीच समन्वय गर्ने लक्ष्य राखेको छ।

सम्मेलनमा आईएलएईका अध्यक्ष प्राडा खेङ सेङ लिम, इन्डियन एपिलेप्सी सोसाइटीका अध्यक्ष प्राडा मल्ल भास्कर राव तथा नेपाल एपिलेप्सी सोसाइटीका अध्यक्ष प्राडा वसन्त पन्तलगायत नेपाल, भारत, जापान, भुटान, मलेसिया, अमेरिका, ब्राजिललगायत १२ देशका विज्ञ तथा वैज्ञानिक सहभागी छन्।

सम्मेलनमा २२ जना अन्तर्राष्ट्रिय तथा ३० भन्दा बढी नेपाली विज्ञका वैज्ञानिक प्रस्तुति रहने आयोजकले जनाएको छ। १५० भन्दा बढी सहभागी रहेको सम्मेलनमा छारे रोगको आधुनिक शल्यक्रिया, उपचार तथा निदान प्रविधि, जेनेटिक्स, औषधि प्रतिरोधी छारे रोग र जनस्वास्थ्यलगायत विषयमा प्रस्तुति, छलफल तथा अन्तर्क्रिया हुनेछ।

सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान तथा अनुभवबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा छारे रोगको शल्यक्रिया तथा उपचारको गुणस्तर र पहुँच विस्तार गर्नुका साथै आधुनिक उपचार प्रविधिलाई थप सुदृढ बनाउन विज्ञ तथा सरोकारवालाबीच सहकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनको पूर्वसन्ध्यामा असोज १ गते काठमाडौंको वीर अस्पतालमा प्री–कन्फ्रेन्स कार्यशालासमेत आयोजना गरिएको थियो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस