• ३ असोज २०८३, शनिबार

बाढी प्रभावित नुवाकोटमा आर्या फर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फर्मा ल्याब प्रालिले नुवाकोटमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।

शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ को त्रिशूली विद्यालय र वडा नं. ९ को भैरवडाँडामा सञ्चालन हुनेछ। शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, निःशुल्क औषधि वितरण र विभिन्न रोगको परीक्षण गरिनेछ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ।

यसअघि आर्या फार्माले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री हस्तान्तरण गरिसकेको छ। बाढीपछि प्रभावित नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भएकाले समुदायमै पुगेर स्वास्थ्य सेवा दिन लागिएको कम्पनीले जनाएको छ। कम्पनीले स्वास्थ्य शिविरलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको निरन्तर सहयोगका रूपमा लिएको छ।

 

प्रतिकृया दिनुहोस