• १२ कार्तिक २०८३, बुधबार

चीनमा रोबोटको सहायताले पहिलोपटक मुटु प्रत्यारोपण सफल

अक्टोबर ५ मा रोबोटको सहायताले मुटु प्रत्यारोपण गर्ने क्रममा रोबोटिक हात सञ्चालन गर्दै चिकित्सक ली योङसिन। तस्बिरः चाइना डेली।

बेइजिङ। चीनका चिकित्सकहरूले रोबोटको सहायताले देशमै पहिलोपटक मुटु प्रत्यारोपण गरेका छन्। अक्टोबर ५ मा गरिएको शल्यक्रियामा ६७ वर्षीय पुरुषको खराब भएको मुटु हटाएर दाताको मुटु प्रत्यारोपण गरिएको हो। यस क्रममा छातीको बीचको हड्डी चिर्नुपरेन।

शान्सी प्रान्तस्थित सियान जियाओतुङ विश्वविद्यालयको पहिलो सम्बद्ध अस्पतालमा गरिएको यो शल्यक्रिया विश्वमै रोबोटको सहायताले गरिएको तेस्रो मुटु प्रत्यारोपण भएको अस्पतालले जनाएको छ।

शल्यक्रियाका क्रममा चिकित्सकहरूले करिब आठ सेन्टिमिटरको चिरा र दुईवटा साना प्वाल बनाएर रोबोटका हात छातीभित्र प्रवेश गराएका थिए। थ्रीडी प्रविधिको सहायताले खराब मुटु हटाई दाताको मुटु प्रत्यारोपण गरिएको थियो।

बिरामीलाई शल्यक्रियापछि सघन उपचार कक्षमा राखिएको र सोही दिन भेन्टिलेटरबाट हटाइएको अस्पतालले जनाएको छ। शल्यक्रियामा सहभागी चिकित्सक ली योङसिनका अनुसार बिरामीको मुटुको कार्यक्षमता पूर्ण रूपमा पुनःस्थापित भएको छ। उनी एकदेखि दुई महिनाभित्र सामान्य जीवनमा फर्किन सक्ने अपेक्षा गरिएको छ।

चिकित्सकहरूका अनुसार रोबोटको सहायताले गरिने यस्तो शल्यक्रियाले शरीरमा हुने क्षति, संक्रमणको जोखिम र निको हुन लाग्ने समय घटाउन सक्छ। यो प्रविधि अझै प्रारम्भिक चरणमा रहे पनि भविष्यमा मुटु प्रत्यारोपणको महत्त्वपूर्ण विकल्प बन्न सक्ने उनीहरूको भनाइ छ।

 

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस