• १२ कार्तिक २०८३, बुधबार

नेपाललाई पोलियोमुक्त राख्न खोप र निगरानीलाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं। नेपाललाई पोलियोमुक्त राख्न बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउनुका साथै रोग निगरानी र प्रयोगशाला सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

विश्व पोलियो दिवसका अवसरमा डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगकी अध्यक्ष प्राडा सृजना श्रेष्ठले भिडियो सन्देशमार्फत नेपालले पोलियोमुक्त अवस्थालाई कायम राख्न निरन्तर सतर्कता अपनाउनुपर्ने बताएकी छन्।

उनले प्रत्येक बालबालिकाले पोलियोविरुद्धको खोप पाएको सुनिश्चित गर्नुपर्ने, रोग निगरानी प्रणालीलाई सुदृढ बनाउनुपर्ने र सङ्क्रमणको जोखिम देखिए तत्काल प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

नेपालमा पोलियो सङ्क्रमण नदेखिएको लामो समय भए पनि विश्वका अन्य क्षेत्रमा भाइरसको जोखिम कायम रहेकाले सतर्कता आवश्यक रहेको उनको सन्देश छ। मानिसको आवागमनका कारण बाहिरबाट भाइरस भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोप र निगरानीलाई निरन्तरता दिनुपर्ने उनले बताएकी छन्।

पोलियो भाइरसको समयमै पहिचानका लागि अचानक हातखुट्टा लुलो हुने अवस्थाको निगरानी (एएफपी सर्भिलेन्स) प्रभावकारी बनाउनुपर्ने पनि उनको जोड छ। निगरानीबाट प्राप्त तथ्याङ्कको नियमित समीक्षा, प्रयोगशाला सेवाको सुदृढीकरण र सङ्क्रमण देखिए तत्काल नियन्त्रणका उपाय अपनाउनु आवश्यक रहेको उनले उल्लेख गरेकी छन्।

त्यसैगरी, पोलियो उन्मूलनका क्रममा विकास भएका जनशक्ति, प्राविधिक क्षमता र स्वास्थ्य संरचनालाई अन्य खोपबाट रोकथाम गर्न सकिने रोगको निगरानी तथा नियन्त्रणमा समेत उपयोग गर्नुपर्ने उनको सन्देश छ।

नेपालमा पोलियो उन्मूलनका लागि सरकारले सन् १९९६ देखि राष्ट्रिय खोप अभियान सञ्चालन गर्दै आएको छ। यस अभियानमा स्वास्थ्यकर्मी, विभिन्न साझेदार संस्था र समुदायको सहभागिताले महत्त्वपूर्ण भूमिका खेलेको छ। पोलियो उन्मूलनका लागि सन् १९८५ मा ‘पोलियोप्लस’ कार्यक्रम सुरु गरेको रोटरी इन्टरनेसनल सन् १९८८ मा विश्वव्यापी पोलियो उन्मूलन अभियानको संस्थापक साझेदार बनेको थियो। संस्थाले खोपका लागि आर्थिक स्रोत जुटाउने, जनचेतना अभिवृद्धि गर्ने, स्वयंसेवक परिचालन गर्ने र राष्ट्रिय खोप अभियानमा सहयोग गर्दै आएको छ। नेपालमा पनि रोटरीको राष्ट्रिय पोलियोप्लस कार्यक्रमले पोलियो उन्मूलनसम्बन्धी जनचेतना र अभियानमा सहयोग गर्दै आएको छ।

नेपालमा सन् २०१० मा रौतहटमा अन्तिम पटक पोलियो सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सन् २०१४ मा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पोलियोमुक्त घोषणा गरेको थियो।

हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो उन्मूलनका प्रयासलाई तीव्रता दिन, खोपको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न र बालबालिकालाई रोगबाट सुरक्षित राख्न प्रेरित गर्छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस