• १२ कार्तिक २०८३, बुधबार

फोक्सोमा दाग बसाउने रोग : आईएलडीका लक्षण, कारण र उपचार

लामो समयसम्म खोकी लागिरहने, हिँड्दा वा भर्‍याङ चढ्दा सास फुल्ने र कहिलेकाहीँ स्यास्या हुने समस्या धेरैले दम, एलर्जी वा मौसम परिवर्तनको असर ठान्छन्। तर यस्ता लक्षण इन्टर्स्टिसियल लङ डिजिज (आईएलडी) का संकेत पनि हुन सक्छन्।

आईएलडी एउटै रोग नभई फोक्सोमा असर गर्ने विभिन्न रोगहरूको समूह हो। यसका दुई सयभन्दा बढी सम्भावित कारण हुन सक्छन्। त्यसैले सबै बिरामीको उपचार एउटै हुँदैन। रोगको कारण, प्रकार र अवस्था पहिचान गरेपछि मात्र उपचार योजना बनाइन्छ।

फोक्सोमा दाग कसरी बस्छ ?

फोक्सोभित्रका सूक्ष्म संरचनाबाट अक्सिजन रगतमा पुग्छ। आईएलडीमा यही संरचनामा सूजन, क्षति वा अन्य परिवर्तन आउन सक्छ। केही प्रकारमा फोक्सो बाक्लो र कडा हुँदै दाग बस्ने प्रक्रिया हुन्छ, जसलाई पल्मोनरी फाइब्रोसिस भनिन्छ। रोग बढ्दै गएमा शरीरमा अक्सिजन पुर्‍याउने फोक्सोको क्षमता घट्न सक्छ।

आईएलडीका लक्षण दम र सीओपीडीसँग मिल्न सक्छन्। तर यसमा प्रायः सुख्खा खोकी र शारीरिक गतिविधि गर्दा बढी सास फुल्ने हुन्छ। दुई साताभन्दा बढी खोकी रह्यो, बारम्बार दोहोरियो वा खोकीसँगै सास फेर्न गाह्रो भयो भने चिकित्सकीय परामर्श लिनुपर्ने डा. पाण्डे बताउँछिन्।

बाथरोग पनि महत्वपूर्ण कारण

र्‍युमाटोइड आर्थराइटिस, स्क्लेरोडर्मा, सोग्रेनजस्ता बाथरोगसँग आईएलडी सम्बन्धित हुन सक्छ। बाथरोग भएका व्यक्तिमा नयाँ खोकी वा सास फेर्न समस्या देखिएमा विशेष सावधानी अपनाउनुपर्छ।

त्यस्तै धुलो, धुवाँ, गिट्टी तथा रसायनसँग लामो समय सम्पर्क, अत्यधिक एलर्जिक प्रतिक्रिया, केही औषधि तथा क्यान्सर उपचारमा प्रयोग हुने केही औषधिले पनि आईएलडी गराउन सक्छन्। किसान तथा चराचुरुङ्गीसँग लामो समय सम्पर्कमा रहने व्यक्तिमा पनि निश्चित प्रकारका आईएलडी देखिन सक्छन्। कारण पत्ता नलाग्ने महत्वपूर्ण प्रकार इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस (आईपीएफ) हो।

एचआरसीटीबाट पहिचान

आईएलडीको निदानमा हाई रिजोलुसन सिटी स्क्यान (एचआरसीटी) महत्वपूर्ण जाँच हो। यसबाट फोक्सोमा भएको क्षति तथा दागको अवस्था हेर्न सकिन्छ। फोक्सोको कार्यक्षमता जाँच्न लङ फङ्सन टेस्ट गरिन्छ। आवश्यकताअनुसार रगत तथा बाथरोगसम्बन्धी परीक्षण, ब्रोंकोस्कोपी वा बायोप्सी पनि गर्नुपर्ने हुन सक्छ।

कारणअनुसार उपचार

आईएलडीको उपचार रोगको कारण, प्रकार र अवस्थाअनुसार फरक हुन्छ। फाइब्रोसिस बढ्ने केही अवस्थामा एन्टिफाइब्रोटिक औषधि प्रयोग गर्न सकिन्छ। बाथरोगसँग सम्बन्धित आईएलडीमा प्रतिरक्षा प्रणालीको गतिविधि कम गर्ने औषधि तथा स्टेरोइड आवश्यक पर्न सक्छन्। एलर्जीका कारण भएको आईएलडीमा एलर्जेनबाट टाढा रहनु र पेशागत कारण भए जोखिमयुक्त वातावरणबाट जोगिनु महत्वपूर्ण हुन्छ।

अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन, आवश्यकताअनुसार पल्मोनरी रिह्याबिलिटेसन तथा इन्फ्लुएन्जा र निमोनियाविरुद्धका खोप उपचार व्यवस्थापनको हिस्सा बन्न सक्छन्।

बहुविषयक उपचार आवश्यक

आईएलडीको उपचारमा फोक्सो विशेषज्ञसँगै रेडियोलोजिस्ट, बाथरोग विशेषज्ञ र प्याथोलोजिस्टको समन्वय आवश्यक पर्न सक्छ। बिरामीको समग्र अवस्था हेरेर उपचार योजना बनाउनु यसको व्यवस्थापनको महत्वपूर्ण पक्ष हो।

आईएलडीका सबै प्रकारबाट बच्न सम्भव हुँदैन। तर धूमपान त्याग्ने, वायु प्रदूषणबाट जोगिने तथा धुलो, धुवाँ र रसायनसँग काम गर्दा सुरक्षात्मक मास्क प्रयोग गर्ने जस्ता उपायले जोखिम घटाउन सकिन्छ।

लामो समयसम्म रहने वा बढ्दै जाने खोकी र सास फेर्न गाह्रो हुने समस्या बेवास्ता गर्नु हुँदैन। विशेषगरी बाथरोग भएका, धूमपान गर्ने तथा धुलो–धुवाँ वा रसायनसँग नियमित सम्पर्कमा रहने व्यक्तिले समयमै चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ।

 

प्रतिकृया दिनुहोस