बाढीपहिरोमा मृत्यु भएकाको पहिचानका लागि डीएनए परीक्षण उपकरण सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी उत्तम नेपालले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए परीक्षणमा प्रयोग हुने दुईवटा उपकरण सहयोग गरेका छन्।
दुवैले एक–एकवटा उपकरण उपलब्ध गराएका हुन्। उत्तम नेपाल र उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँसमेत सहयोग गरेका छन्।
बेलायत भ्रमणमा रहेकी सांसद विदुषी राणामार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपकरण सहयोगको अनुरोध गरेपछि आचार्य र नेपालले समन्वय गरी उपकरण उपलब्ध गराएका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आयोजित कार्यक्रममा आचार्य, नेपाल र राणाले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरण हस्तान्तरण गरेका छन्।
यी उपकरण नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि नमुना तयार गर्न प्रयोग गरिनेछन्। यसबाट बाढीपहिरोमा ज्यान गुमाएकाहरूको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीले मातृभूमिप्रति देखाएको माया र सहयोगको प्रशंसा गरेका छन्। सांसद राणाले पनि विदेशमा रहेका नेपालीको नेपालप्रतिको आत्मीयता र सहयोगी भावनाको चर्चा गरिन्।






















प्रतिकृया दिनुहोस