एम्समा भारतमै पहिलोपटक गर्भमै रहेको शिशुको मेरुदण्डको शल्यक्रिया
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। एम्सका चिकित्सकहरूले गर्भमै रहेको शिशुको मेरुदण्डमा देखिएको गम्भीर जन्मजात दोष सच्याउन भारतमै पहिलोपटक ‘ओपन फिटल सर्जरी’ गरेका छन्।
२५ हप्ताको गर्भावस्थामा रहेको शिशुमा गरिएको उक्त शल्यक्रिया यही महिनाको १२ तारिखमा सम्पन्न भएको हो। करिब ६ घण्टा लामो शल्यक्रियामार्फत शिशुको मेरुदण्डको तल्लो भागमा देखिएको ‘लुम्बोसाक्रल माइलोमेनिङ्गोसील’ नामक गम्भीर जन्मजात दोष गर्भमै सच्याइएको एम्सले जनाएको छ।
माइलोमेनिङ्गोसील स्पाइना बिफिडाको सबैभन्दा गम्भीर प्रकार हो। यस अवस्थामा मेरुदण्डको हड्डी पूर्ण रूपमा बन्द नहुँदा मेरुदण्ड र त्यसलाई ढाक्ने झिल्ली बाहिर निस्कन्छन्। यसले मेरुदण्ड तथा मस्तिष्क वरिपरि रहने तरल पदार्थ (सेरेब्रोस्पाइनल फ्लुइड) चुहिने जोखिमसमेत निम्त्याउँछ।
एम्सका अनुसार शल्यक्रियाअघि पाँच साताभन्दा बढी समयसम्म व्यापक तयारी गरिएको थियो। यस क्रममा विभिन्न विधाका विशेषज्ञहरूले भ्रूणको विस्तृत इमेजिङ, परामर्श, एनेस्थेसियासम्बन्धी तयारी तथा शल्यक्रियाको अभ्यास गरेका थिए।
नयाँ दिल्लीस्थित एम्सको न्युरोसाइन्सेस सेन्टरमा अत्याधुनिक माइक्रोस्कोपी र निरन्तर अल्ट्रासाउन्ड निगरानीको सहायताले शल्यक्रिया सम्पन्न गरिएको हो।
यस जटिल शल्यक्रियामा प्रसूति तथा स्त्रीरोग, मातृ तथा भ्रूण चिकित्सा, न्युरोसर्जरी, एनेस्थेसिया, प्लास्टिक सर्जरी, रेडियोडायग्नोसिस र नवजात शिशु उपचार विभागका ३० भन्दा बढी चिकित्सक तथा नर्सिङ कर्मचारी सहभागी थिए।
एम्सका अनुसार माइलोमेनिङ्गोसील भएका बालबालिकामा पक्षाघात, मस्तिष्कमा पानी जम्ने समस्या (हाइड्रोसेफलस) लगायत जीवनभर असर गर्न सक्ने विभिन्न स्नायुजन्य अपाङ्गता देखिन सक्छन्।
यद्यपि, गर्भमै गरिने यस्तो शल्यक्रिया निश्चित अवस्थाका गर्भावस्थामा मात्र उपयुक्त हुने एम्सले स्पष्ट पारेको छ। यसलाई स्नायु नलीसम्बन्धी जन्मजात दोष (न्युरल ट्युब डिफेक्ट) को रोकथाम गर्ने विकल्पका रूपमा भने लिन नहुने संस्थानले जनाएको छ।
शल्यक्रियापछि आमा र भ्रूण दुवैको स्वास्थ्य अवस्थालाई गर्भावस्थाको बाँकी अवधि, प्रसूति तथा नवजात शिशुको अवस्थासम्म विभिन्न विधाका विशेषज्ञ सम्मिलित टोलीले निरन्तर निगरानी गर्नेछ।
उक्त शल्यक्रिया भारत सरकारको ‘जननी शिशु सुरक्षा कार्यक्रम’ (जेएसएसके) अन्तर्गत परिवारलाई पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको एम्सले जनाएको छ।





.jpeg)

..jpeg)




..jpeg)

प्रतिकृया दिनुहोस