एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाल सम्मानित
काठमाडौं । नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट सम्मान पाएको छ।
टिमोर–लेस्टेको राजधानी डिलीमा जारी डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई उक्त उपलब्धिका लागि सम्मान गरिएको हो।
डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, प्रभावकारी खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।
सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ।
बैठकमा नेपालबाट डा. मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता भने देशमा आएको विनाशकारी बाढीपछि स्वास्थ्य प्रतिकार्य र उद्धार तथा राहत समन्वयमा प्रत्यक्ष खटिनुपर्ने भएकाले बैठकमा सहभागी भइनन्।
मन्त्री मेहताले भिडियो सन्देशमार्फत बाढीबाट सिर्जित स्वास्थ्य संकटबारे जानकारी गराउँदै जलवायु न्याय र स्वास्थ्य क्षेत्रमा जलवायु वित्तको आवश्यकता औँल्याएकी छन्।




..jpeg)



..jpeg)










प्रतिकृया दिनुहोस