कोशी प्रदेशमा ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न
विराटनगर। कोशी प्रदेशसभा सचिवालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। २०८३ कात्तिक १६ गते प्रदेशसभा हलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले वर्तमान समाजमा बढ्दै गएका आर्थिक तथा मानसिक तनाव, डिप्रेसन र दुर्व्यसनजस्ता चुनौतीको समाधान परम्परागत शैली वा सिद्धान्तबाट मात्र सम्भव नहुने बताए। यस्ता समस्याको समाधानका लागि नयाँ चेतना र व्यावहारिक अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।
शर्माले हिमवत् खण्ड अर्थात् नेपाल आरोग्यको उद्गम भूमि भएको उल्लेख गर्दै विश्वभर स्वास्थ्य, शान्ति र वेलनेसप्रतिको चासो बढिरहेको सन्दर्भमा नेपालले ‘आरोग्य पर्यटन’को नेतृत्व लिनुपर्नेमा जोड दिए।
उनले संयुक्त राष्ट्रसंघमा नेपालको पहलमा हरेक वर्ष अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा मनाउने निर्णय भइसकेको स्मरण गराउँदै यसले नेपाललाई विश्वमञ्चमा चिनाउने ऐतिहासिक अवसर प्रदान गरेको बताए।
कार्यक्रमअन्तर्गत स्वजागरणको प्रयोगात्मक अभ्यास गराउँदै शर्माले सहभागीहरूलाई तनावमुक्ति र आन्तरिक शान्तिका लागि नमस्कार प्राणायाम तथा विशेष श्वासप्रश्वास विधिको प्रत्यक्ष अभ्यास गराएका थिए। यस्ता अभ्यासले शरीरमा सकारात्मक हर्मोनको सन्तुलन कायम राख्न र दैनिक जीवनलाई ऊर्जावान् बनाउन सहयोग पुग्ने उनले बताए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रमको समापनमा प्रदेशसभा सचिवालयका तर्फबाट यस्ता आध्यात्मिक तथा व्यावहारिक अभ्यासले जनप्रतिनिधि र कर्मचारीहरूमा सकारात्मक ऊर्जा, कार्यक्षमता तथा चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो। साथै, आगामी दिनमा पनि यस्ता जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको थियो।



..jpeg)




..jpeg)
..jpeg)









प्रतिकृया दिनुहोस