• २० कार्तिक २०८३, शुक्रबार

प्रतिजैविक प्रतिरोध नियन्त्रणमा ‘एक स्वास्थ्य’ अवधारणाको महत्त्व

प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स–एएमआर) पछिल्लो समय विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। विभिन्न सूक्ष्मजीवहरू जस्तै जीवाणु (ब्याक्टेरिया), विषाणु (भाइरस), ढुसी (फङ्गस) तथा परजीवीहरूले रोग तथा संक्रमणको उपचारमा प्रयोग हुने औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ।

प्रतिरोध क्षमता सूक्ष्मजीवहरूमा प्राकृतिक रूपमा विकास हुन सक्ने प्रक्रिया भए पनि प्रतिजैविक औषधिको अनुचित तथा अत्यधिक प्रयोगका कारण मानव, पशुपन्छी र कृषि क्षेत्रमा यसको समस्या थप जटिल बन्दै गएको छ। त्यसैले प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, वातावरण तथा खाद्य उत्पादन प्रणालीसँग समेत गहिरो रूपमा सम्बन्धित छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का तथ्यांकअनुसार नेपालमा मानव स्वास्थ्यमा असर गर्ने प्रयोगशालाबाट प्रमाणित ब्याक्टेरियल संक्रमणमध्ये झन्डै ६ मध्ये १ संक्रमणमा प्रतिजैविक औषधिविरुद्ध प्रतिरोध क्षमता विकास भएको पाइएको छ। बढ्दो प्रतिरोधका कारण अत्यावश्यक औषधिबाट हुने उपचार, शल्यक्रिया तथा संक्रमण व्यवस्थापनसमेत जटिल बन्दै गएको छ। नेपालको सन्दर्भमा पनि प्रतिजैविक प्रतिरोधको समस्या गम्भीर बन्दै गएको देखिन्छ। डब्लुएचओका अनुसार नेपालमा अनुमानित ६ हजार ४ सय मृत्यु प्रत्यक्ष रूपमा एएमआरसँग सम्बन्धित रहेको उल्लेख छ।

प्रतिजैविक प्रतिरोध नियन्त्रणमा ‘एक स्वास्थ्य’ अवधारणा

‘एक स्वास्थ्य’ (वन हेल्थ) अवधारणाले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरणीय स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको मान्यता राख्छ। यस अवधारणाले स्वास्थ्यसम्बन्धी चुनौतीहरूको प्रभावकारी समाधानका लागि बहुपक्षीय तथा बहुक्षेत्रीय सरोकारवाला निकायबीच सहकार्य र समन्वयमा जोड दिन्छ। प्रतिजैविक प्रतिरोधको उत्पत्ति, विकास तथा प्रसार पनि यिनै अन्तरसम्बन्धित क्षेत्रमार्फत विभिन्न माध्यमबाट हुने गर्दछ।

मानव स्वास्थ्य क्षेत्रमा एन्टिबायोटिकको अनुचित प्रयोग, चिकित्सकको सल्लाहबिना औषधि सेवन तथा उपचारको निर्धारित मात्रा र अवधि पूरा नगर्ने जस्ता गतिविधिले सूक्ष्मजीवहरूमा प्रतिरोध क्षमता विकास गर्न सहयोग पुर्‍याउँछन्।

त्यसैगरी, पशुपन्छीमा रोगको उपचार, रोकथाम तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले अनुचित रूपमा प्रतिजैविक औषधिको प्रयोग गर्दा प्रतिरोधी सूक्ष्मजीवको विकास र वृद्धिमा टेवा पुग्छ। यस्ता प्रतिरोधी जीवाणु तथा प्रतिजैविक औषधिका अवशेष अस्पतालबाट निस्कने दूषित पानी, पशुपन्छीको मलमूत्र, औषधिजन्य फोहोर तथा कृषि क्षेत्रबाट बगेर आउने पानी र अव्यवस्थित ढल प्रणालीका माध्यमबाट वातावरणमा प्रवेश गर्छन्।

प्रतिरोधी सूक्ष्मजीव तथा प्रतिरोधी जीनहरू दूषित खाना, पानी, प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक गतिविधिका माध्यमबाट मानिस, जनावर र वातावरणबीच फैलिन सक्छन्। फलस्वरूप अस्पतालभित्र मात्र एएमआर नियन्त्रण गर्ने प्रयासले यस समस्यालाई पूर्ण रूपमा सम्बोधन गर्न सक्दैन। यसको प्रभावकारी नियन्त्रणका लागि प्रतिजैविक औषधिको प्रयोग हुने, प्रतिरोध विकास हुने र फैलिन सक्ने सबै क्षेत्रलाई समेटेर समग्र रणनीति अपनाउन आवश्यक छ।

नेपालमा विद्यमान ‘एक स्वास्थ्य’ रणनीति

स्वास्थ्य जोखिमहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको विषयलाई मध्यनजर गर्दै नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत २०७६ पुस १४ गते ‘एक स्वास्थ्य रणनीति, २०७६’ स्वीकृत गरेको छ। यस रणनीतिले जनस्वास्थ्यसम्बन्धी जोखिमको पहिचान तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय क्षेत्रबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने रूपरेखा प्रदान गरेको छ।

यस रणनीतिले पाँच प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

१. समन्वय र सहकार्य: सरकारी मन्त्रालय, विभाग, संस्थाहरू तथा अन्य सरोकारवालाबीच साझेदारी र सहकार्य सुदृढ गर्ने।

२. एकीकृत रोग निगरानी तथा प्रयोगशाला सेवा: प्रतिजैविक प्रतिरोधलगायत नयाँ देखा परेका तथा पुनः देखा परेका रोगको पहिचानका लागि निगरानी तथा निदान प्रणालीको विकास गर्ने।

३. क्षमता विकास: मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय क्षेत्रमा कार्यरत जनशक्तिको प्राविधिक ज्ञान तथा सीप अभिवृद्धि गर्ने।

४. पूर्वतयारी र प्रतिकार्य: जनस्वास्थ्य आपत्कालीन अवस्थाको सामना गर्न संयुक्त योजना निर्माण, पूर्वसूचना प्रणाली तथा समन्वयात्मक प्रतिकार्यलाई सुदृढ गर्ने।

५. सञ्चार र पैरवी: स्वास्थ्य जोखिम सम्बोधन गर्ने क्रममा जनचेतना अभिवृद्धि गर्ने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा सामुदायिक स्तरमा जनसहभागितालाई प्रोत्साहन गर्ने।

आगामी बाटो : नीतिलाई व्यवहारमा रूपान्तरण

एएमआरको समस्या सम्बोधन गर्न नीतिनिर्माता, स्वास्थ्य सेवाकर्मी, पशु चिकित्सक, किसान, वातावरणीय वैज्ञानिक, अनुसन्धानकर्ता तथा आम समुदायको निरन्तर प्रतिबद्धता आवश्यक छ। नेपालले संघीय, प्रादेशिक र स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत समर्थनमा मात्र सीमित नभई व्यावहारिक र परिणाममुखी कदम चाल्नुपर्ने देखिन्छ।

प्राथमिक कार्यअन्तर्गत अस्पताल, पशु चिकित्सालय, प्रयोगशाला, खाद्य उत्पादन प्रणाली तथा वातावरणीय अनुगमन केन्द्रमा एकीकृत एएमआर निगरानी प्रणालीलाई सुदृढ बनाउनुपर्छ। प्रयोगशालाको क्षमता विकास गर्नुका साथै एन्टिमाइक्रोबियल औषधिको प्रेस्क्रिप्सन, बिक्री तथा प्रयोगलाई प्रभावकारी रूपमा नियमन गर्न आवश्यक छ।

अस्पतालहरूमा एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ। त्यसैगरी, पशु उत्पादन तथा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक र कृषकहरूले प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग, असल पशुपालन अभ्यास, खोप तथा रोग नियन्त्रणका विधि र जैविक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्छ।

यसका अतिरिक्त अस्पताल, औषधि उद्योग, कृषि तथा पशुपालन क्षेत्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरी प्रतिजैविक औषधिका अवशेष वातावरणमा प्रवेश गर्नबाट रोक्नुपर्छ। जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै चिकित्सकीय सल्लाहबिना औषधि सेवन गर्ने प्रवृत्ति र अनावश्यक प्रतिजैविक औषधिको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ।

अन्त्यमा, एएमआर नियन्त्रणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त स्रोतसाधन, स्पष्ट संस्थागत जिम्मेवारी, राजनीतिक प्रतिबद्धता तथा सामुदायिक तहमा अर्थपूर्ण जनसहभागिता आवश्यक हुन्छ। ‘एक स्वास्थ्य’ अवधारणालाई अस्थायी वा परियोजनामा आधारित पहलका रूपमा मात्र नहेरी नियमित र संस्थागत प्रक्रियाका रूपमा अघि बढाउनुपर्छ। मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरणीय क्षेत्रबीच एकीकृत निगरानी, समन्वय तथा सहकार्यलाई निरन्तरता दिन सकेमा मात्र प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस