• १२ श्रावण २०८३, मंगलबार

२४औँ सत्याग्रहको तेस्रो दिन: डा. केसीको स्वास्थ्य कमजोर बन्दै, ब्लड सुगर ५० मा झर्‍यो

धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिन पुग्दा स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको छ।

डा. केसीको उपचारमा संलग्न डा. अमृत जैशीका अनुसार शुक्रबार राति ५६ एमजी/डीएल रहेको ब्लड सुगर शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा ५० एमजी/डीएलमा झरेको छ। साथै, रक्तचापमा पनि उतारचढाव (फ्लक्चुएसन) देखिएको उनले बताए।

उनका अनुसार डा. केसीलाई मांसपेशी बाउँडिने, बोल्न असहज हुने तथा केही समयअघि खुट्टाको शल्यक्रिया गरेका कारण शौचालय जानसमेत कठिनाइ भइरहेको छ।

स्वास्थ्य अवस्थाको निरन्तर निगरानीका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा मेडिकल टोलीले नियमित परीक्षण र उपचार गरिरहेको छ।

यसैबीच, डा. जैशीका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ ५ बजे उनीसँग र राति ११ बजे डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेका थिए।

संवादका क्रममा डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गरी गेटामा ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्नेलगायत आफ्ना प्रमुख माग पुनः स्पष्ट रूपमा राख्दै, ती माग सम्बोधन गर्ने ठोस गृहकार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गरेको डा. जैशीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस