• १२ श्रावण २०८३, मंगलबार

"१३७ वर्षको वीर अस्पताल: नेपालमा आधुनिक स्वास्थ्य सेवाको आधारशिला"

काठमाडौं। नेपालको आधुनिक चिकित्सा सेवाको इतिहासमा वीर अस्पताल एउटा संस्थामात्र होइन, स्वास्थ्य प्रणालीको आधारशिला हो। विसं १९४६ साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेर जबराले १५ शैय्याबाट स्थापना गरेको यो अस्पतालले आज १३७ वर्ष पूरा गरेको छ।

विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको वीर अस्पताल अहिले करिब एक हजार शय्याको राष्ट्रिय रेफरल अस्पतालका रूपमा विकसित भएको छ।

अस्पतालको उद्घाटन समारोहमा वीर शमशेरले भनेका थिए, "काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ। औषधि नहुँदा रैतीले साह्रै दुःख पाउँदा रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ। रैती दुनियाँको एक पैसा खर्च नभई औषधि गर्न पाउने छन्।" इतिहासअनुसार अस्पताल निर्माणका लागि मानन्धर थरका एक दाताले ४८ रोपनी जग्गा उपलब्ध गराएका थिए। स्थापना कालदेखि नै उपचारसँगै बिरामीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो। वीर शमशेरको हस्तलिखित सम्बोधनमा बिरामीको उपचार, खानपान, ओछ्यान र सेवासुविधाको सम्पूर्ण व्यवस्था मिलाइएको उल्लेख छ। यही परम्पराको निरन्तरतास्वरूप वीर अस्पतालमा आज पनि भर्ना भएका बिरामीलाई निःशुल्क खाना उपलब्ध गराइन्छ।

वीर अस्पतालले नेपालका धेरै विशिष्टीकृत अस्पतालको जन्मसमेत दिएको छ। स्थान अभाव भएपछि सन् १९५९ मा प्रसूति विभाग थापाथली सारेर इन्द्रराज्य लक्ष्मी देवी शाह प्रसूति गृह स्थापना गरियो। सन् १९६१ मा सुरु भएको मानसिक रोग क्लिनिक पछि विभागमा विस्तार भई सन् १९८५ मा लगनखेलस्थित मानसिक अस्पतालका रूपमा विकास भयो। जनवरी ७, १९६३ मा बालरोग विभाग कान्ति बाल अस्पतालमा स्थानान्तरण गरियो भने वीर अस्पतालकै सरुवा रोग युनिट पछि छुट्टै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रूपमा विकसित भयो। त्यसैले वीर अस्पताललाई नेपालको विशिष्टीकृत अस्पतालहरूको 'जननी' समेत मानिन्छ।

वीर अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापाको पुस्तक Bir Hospital: Development of Modern Medicine in Nepal अनुसार अस्पतालका पहिलो नेपाली सुपरिटेन्डेन्ट डा. जीतसिंह मल्ल थिए, जसले सन् १९५९ मा जिम्मेवारी सम्हालेका थिए। त्यसभन्दा अघि पाँच जना विदेशी सुपरिटेन्डेन्टले अस्पतालको नेतृत्व गरेका थिए। पहिलो नेपाली म्याट्रोन इन्द्रकला माथेमा थिइन्। वीर अस्पतालबाटै नेपालमा मेडिसिन, ब्लड बैंक, नेफ्रोलोजी, न्युरोलोजी, युरोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, कार्डियोथोरासिक, लिभर, नाक–कान–घाँटी, अर्थोपेडिक, छाला, दन्त तथा रेडियोलोजीलगायत धेरै विशेषज्ञ सेवाको सुरुआत भएको इतिहास छ।

वीर शमशेरले निर्माण गराएको ऐतिहासिक भवन विसं १९९० सालको भूकम्पले ध्वस्त बनाएपछि विभिन्न चरणमा नयाँ संरचना निर्माण गरिए। भारत सरकारको सहयोगमा बहिरंग (ओपीडी) भवन, युएसएडको सहयोगमा सर्जिकल ब्लक तथा पछिल्ला वर्षमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक भवन निर्माण भएका छन्। हाल ५०० शय्याको नयाँ भवन सञ्चालनमा छ भने पुरानो संरचनामध्ये करिब ६० वर्ष पुरानो पहेँलो भवनले अस्पतालको इतिहासलाई अझै जीवित राखेको छ।

२०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना भएपछि वीर अस्पताल शिक्षण अस्पतालका रूपमा समेत विकसित भएको छ। यद्यपि अस्पतालको स्वामित्व र व्यवस्थापनबारे बहस अझै जारी छ। भक्तपुरको दुवाकोटमा एक हजार शय्याको नयाँ अस्पताल निर्माणको योजना वर्षौंदेखि चर्चामा रहे पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। हाल करिब एक हजार शय्या र झन्डै दुई हजार कर्मचारी रहेको वीर अस्पतालले दैनिक हजारौँ बिरामीलाई सेवा दिँदै नेपालको सार्वजनिक स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा आफ्नो ऐतिहासिक भूमिका निरन्तर निभाइरहेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस