• १२ श्रावण २०८३, मंगलबार

नारायणी अस्पताल घटनाः चिकित्सक संघको केन्द्रीय टोली वीरगन्जमा, डा. प्रमोदलाई काठमाडौं ल्याइँदै

वीरगन्ज। नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय टोली आइतबार वीरगन्ज पुगेको छ। संघले दोषीलाई कानुनी कारबाही नगरिएसम्म आन्दोलन जारी रहने स्पष्ट गरेको छ।

संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल घटनास्थल पुगेर घाइते चिकित्सक डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूले डा. प्रमोद र उनका परिवारसँग भेटघाट गर्नुका साथै संघका अध्यक्ष डा. बद्री रिजाल, कोषाध्यक्ष डा. संयुक्त आचार्य तथा वीरगन्ज शाखाका पदाधिकारीसँग छलफल गरेका थिए। छलफलपछि डा. प्रमोदलाई थप उपचार तथा सुरक्षाका लागि काठमाडौं ल्याउने निर्णय गरिएको डा. मल्लले जानकारी दिए।

करिब चार घण्टा लामो छलफलमा नारायणी अस्पतालका चिकित्सकहरूले हालको असुरक्षित अवस्थामा आकस्मिक र नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिने बताएका थिए। चिकित्सकहरूको उक्त निर्णयप्रति नेपाल चिकित्सक संघले पूर्ण समर्थन जनाएको छ।

संघले आक्रमणमा पीडित चिकित्सकमाथि अस्पताल प्रशासनले गरेको निलम्बनप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ। साथै, घटनामा संलग्न सबैलाई पक्राउ गरी कानुनबमोजिम अदालतमा पेश नगरेसम्म आन्दोलन नरोकिने अडान पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष राखिएको डा. मल्लले बताए।

संघले चिकित्सक तथा स्वास्थ्य संस्थामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गर्दै सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न पाउनु चिकित्सकको आधारभूत व्यावसायिक अधिकार भएको जनाएको छ। चिकित्सकको सुरक्षा, पेशागत सम्मान र स्वास्थ्य सेवाको निरन्तरताका लागि दोषीमाथि निष्पक्ष तथा कडा कानुनी कारबाही अपरिहार्य रहेको संघको भनाइ छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस