घाइते डा. प्रमोद राम ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी
काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ र आवश्यक सम्पूर्ण उपचार व्यवस्थापन मिलाइएको छ। उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै मन्त्री मेहताले आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ।
यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।
मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई आग्रह गरेको छ। साथै, स्वास्थ्य संस्थामा सुरक्षित र निर्भय कार्य वातावरण सुनिश्चित गर्न तथा स्वास्थ्य सेवा अविच्छिन्न रूपमा सञ्चालन गर्न सबै सरोकारवालालाई सहयोग गर्न अपिल गरेको छ।
मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व रहेको बताउनुभयो। यस्ता घटना पुनः नदोहोरिने गरी आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था थप प्रभावकारी बनाइने उहाँको भनाइ छ।


















प्रतिकृया दिनुहोस