नेपाल क्यान्सर हस्पिटलमा अत्याधुनिक एमआरआई सेवा सञ्चालन
काठमाडौं। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अत्याधुनिक म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई) सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले नविनतम प्रविधीको उच्च क्षमतायुक्त एमआरआई उपकरणमार्फत क्यान्सरसहित विभिन्न जटिल रोगको छिटो र सहजरुपमा रोगको पहिचान गर्न सकिने जनाएको छ।
अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले अस्पताल परिसरमा आयोजित विशेष समारोहबीच रिबन काटेर एमआरआई सेवाको औपचारिक उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वैदिक पूजाआजा गरिएको थियो भने चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन टोली तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अस्पतालका अनुसार नयाँ एमआरआई प्रविधिले उच्च गुणस्तरका तस्बिर उपलब्ध गराउनुका साथै स्क्यानको समय घटाउने र बिरामीलाई थप सहज सेवा प्रदान गर्ने क्षमता राख्छ। यस प्रविधिबाट क्यान्सर, मस्तिष्क, मेरुदण्ड, स्नायु प्रणाली, हड्डी, जोर्नी, पेट तथा अन्य जटिल रोगको प्रारम्भिक पहिचान, रोगको अवस्था मूल्याङ्कन, उपचार योजना निर्माण तथा उपचारपछिको अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले अत्याधुनिक एमआरआई सेवा सञ्चालनसँगै बिरामीले नेपालमै छिटो, भरपर्दो र अन्तर्राष्ट्रियस्तरको निदानात्मक सेवा प्राप्त गर्ने बताइन्। उनका अनुसार आधुनिक प्रविधिको प्रयोगले उपचार प्रक्रिया अझ प्रभावकारी, विश्वसनीय र बिरामीमैत्री बन्नेछ।
‘हामीले अत्याधुनिक स्वास्थ्य प्रविधिलाई सेवासँग जोडेर अन्तर्राष्ट्रियस्तरको निदान सुविधा नेपालमै उपलब्ध गराउने लक्ष्य राखेका छौं। नयाँ एमआरआई सेवाले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छौं,’ निर्देशक श्रेष्ठले भनिन्।
अस्पतालले अत्याधुनिक स्वास्थ्य प्रविधिमा निरन्तर लगानी गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको समग्र क्यान्सर उपचार सेवा विस्तार गर्ने रणनीतिअन्तर्गत एमआरआई सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अध्यक्ष डा. सुदीप श्रेष्ठले यो सेवा र अस्पतालको दीर्घकालीन विकास योजनाले नेपालमा क्यान्सर उपचारको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।


















प्रतिकृया दिनुहोस