• १२ श्रावण २०८३, मंगलबार

चिकित्सकमाथि दुर्व्यवहारको विरोधमा मंगलबार देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा चिकित्सकहरूमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै विरोधस्वरूप साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा त्यहाँका प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लगाएको छ।

संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने सबै दोषीलाई तत्काल पक्राउ गरी 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)' बमोजिम कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।

त्यस्तै, चिकित्सकहरूको मानमर्दन गरेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न संघले माग गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यबाट दमन भएको आरोप लगाउँदै संघले आज साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गरिएको छ। साथै आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारको हुने संघले उल्लेख गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस