स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल, सुरक्षित वातावरणमा सेवा सुनिश्चित गर्न आग्रह
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले कुनै पनि परिस्थितिमा उपचार सेवा प्रभावित हुन नहुने उल्लेख गरेको छ। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गर्न तथा सबै अस्पतालले निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ।
यस्तै, स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी बनाउन सहयोग, सहजीकरण तथा समन्वयका लागि सम्बन्धित सबै निकायसँग मन्त्रालयले अपिल गरेको छ। मन्त्रालयले ‘स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौं’ भन्ने सन्देशसहित सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थामा शान्तिपूर्ण र सुरक्षित वातावरण कायम राख्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।


















प्रतिकृया दिनुहोस